काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ३०३ औँ पृथ्वी जयन्तीका अवसरमा नेपाल एकीकरणका अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरेका छन् ।
नेपालपत्र डटकमले आज बिहान ‘तीन शीर्ष नेताद्वारा पृथ्वी जयन्तीको शुभकामना दिन आनाकानी, पूर्वराष्ट्रपति भण्डारीले दिइन् पहिला’ शीर्षकमा समाचार प्रकाशन गरेर एक्समा प्रधानमन्त्री ओली, काँग्रेस सभापति शेर बहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई समेत उल्लेख गरेपछि ‘प्रधानमन्त्री ओलीद्वारा नारायण शाहप्रति सम्मान प्रकट’ भनेर सामाजिक संजाल फेसबुकमा पोष्ट गरेका हुन् ।
प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘नेपालको एकीकरणका नेतृत्वकर्ता पृथ्बीनारायण शाहको आज जन्मजयन्ती । राज्य एकीकरणको नेतृत्व गर्नुहुने पृथ्बीनारायण शाह र त्यस अभियानमा आफ्नो ज्यानको परवाह नगरी होमिने हाम्रा पुर्खाहरूमा उच्च सम्मान व्यक्त गर्दछु ।’
आज बिहान ८ बजेर ९ मिनेट जाँदा नेपालपत्रमा उक्त समाचार प्रकाशन गरेपछि त्यसको लगभग २ घण्टापछि प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीद्वारा नारायण शाहप्रति सम्मान प्रकट गरेका हुन् । अहिले ११ बजेर ५० मिनेट यो समाचार तयार पर्दासम्म काँग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सामाजिक संजाल ट्वीटर र फेसबुकमा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको शुभकामना दिएको देखिंदैन ।
३०३औँ पृथ्वी जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीमा शुभकामना समेत दिन आनाकानी गर्ने हाम्रा यी दुई नेतालाई चिन्ने जिम्मा सवै पाठकलाई सुम्पिन्छौँ ।












