६ जेष्ठ २०८१, आइतबार

काली !


Kabita
Shekhar
शेखर ‘अस्तित्व’

रूप भनेको

अनुहारको सुन्दरता मात्रै हुँदैन !

रूप भनेको

छालाको रंग मात्रै हुँदैन !

रूप भनेको

आकर्षक फिगर मात्रै हुँदैन !

रूप भनेको

फैशनेबल लुगाले बेरिएको देह मात्रै हुँदैन !

रूप यो भन्दा धेरै पर को कुरा हो !

जो खुला आँखाले देखिन्छ,

त्यो रूपको केवल सानो अंश मात्रै हो !

असल रूप अर्कै हुन्छ !

त्यो अनुभूतिको कुरा हो !

त्यसलाई हेर्नको लागि आँखाको खाँचो पर्दैन !

हो ! तिम्रो त्यै रूप हेरेको छु मैले !

तिम्रो रूप,

फुल जस्तो भएपनि फुल जस्तो छैन !

समयका साथ छाला च्याउरिए पनि,

ओइलाउने छैन यो माया !

तिम्रा आँखा,

सागर जस्ता भएपनि सागर जस्ता छैनन्

समयका साथ ज्योति मन्द भए पनि,

धमिलिने छैन यो करूणा !

तिम्रो हाँसो,

झरना जस्तो भए पनि झरना जस्तो छैन

समयका साथ दाँत झरे पनि,

निष्प्रण हुने छैन यो जीवन्तता !

तिम्रा कपाल फुल्दा पनि,

वृध्दावस्थामा खुट्टा काम्दा पनि,

कमर झुक्दा पनि,

परिवर्तित हुने छैन तिम्रो रूप !

किनभने

तिम्रो रूपको उद्गम,

पञ्चतत्वको शरीरबाट हैन,

मेरो हृदयबाट भएको छ !

बुझ्यौ काली ?

 

बुटवल–६

हाल : मुम्बई,


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !