१८ पुस २०८१, बिहीबार

सडकलाई समृद्धिसँग जोड्नुपर्नेमा भौतिकमन्त्री दाहालको जोड


देवेन्द्र दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक तथा संरचनाहरुलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने धारणा व्यक्त गरेका छन् । सडक बोर्ड नेपालको २२औँ स्थापना दिवसका अवसरमा आज बोर्डमा आयोजित कार्यक्रममा उनले सडक तथा पूर्वाधारलाई आर्थिक समृद्धिसँग जोड्न आवश्यक रहेको बताए । अब बन्ने संरचनाहरुले देशको समृद्धि यात्रामा कति महत्व राख्छन् भन्ने विषयलाई ध्यान दिन जरुरी रहेको उनको भनाइ थियो ।

नेपाल अझै पनि विकास निर्माणकै चरणमा रहेको उल्लेख गर्दै मन्त्री दाहालले अब बन्ने संरचनाहरुलाई दिगो, सुरक्षित र उपयोगी बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए । जनजीविका, राजस्व सङ्कलन, आर्थिक क्रियाकलाप तथा बृहत् जनसङ्ख्या र भूगोललाई प्रत्यक्ष फाइदा पुर्याउने योजनाहरुमा मन्त्रालयले प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री दाहालले अब कुनै पनि संरचना निर्माण गर्दा प्राथमिकता निर्धारण गर्नुपर्ने बताए ।

कार्यक्रममा मन्त्री दाहालले सडक बोर्डअन्तर्गतका रुग्ण ठेक्काहरुको शीघ्र व्यवस्थापन गर्न निर्देशन दिँदै सडक मर्मतसँगै अनुगमनलाई समेत प्रभावकारी बनाउन आग्रह गरे ।

त्यसअवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले आर्थिक वृद्धिको प्रमुख आधार सडकसमेत भएकाले आर्थिक विकास र वृद्धिलाई सहयोग पुग्नेगरी सडक सञ्जाल विस्तार गर्नुपर्ने बताए ।

पूर्वाधारमा गरिएको लगानीले दीर्घकालीन प्रतिफल दिने भएकाले कुनै पनि पूर्वाधार तथा संरचना निर्माण गर्दा स्थायित्व र गुणस्तरमा पनि ध्यान दिनुपर्नेमा उहाँले जोड दिए । बोर्डका कार्यकारी निर्देशक गणेश केसीले बोर्डलाई स्वायत्त बनाउनेतर्फ सरकारको ध्यान जानुपर्ने बताएका थिए भने कार्यक्रममा बोर्डका पूर्वसदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोर्डको गत आर्थिक वर्षको प्रतिवेदन सार्वजनिक गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !