काठमाडौँ । क्वान्टम भौतिकशास्त्री डा. जोन हेगलिनले योग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व लिन सक्ने बताएका छन् । नेपाल महर्षि वैदिक फाउन्डेसनले काठमाडौँमा आयोजना गरेको अतिरुद्रि विराट महायज्ञमा प्रमुख वक्ताका रूपमा सहभागी हुँदै उनले योग र यज्ञले समाजमा शान्ति स्थापना गर्ने बताएका हुन् ।
उनले भने, ‘योग र यज्ञका माध्यमबाट नेपालले विश्ववको नेतृत्व लिन सक्छ, योग र यज्ञले समाजमा शान्ति स्थापना गर्छ । यी दुवै विषय स्वर्णयुगका उच्चतम प्रविधि हुन् । यीभन्दा शक्तिशाली विषय संसारमा कुनै पनि छैन ।’
योग र यज्ञका माध्यमबाट नै नेपालले विश्वको नेतृत्व लिन सक्छ भन्ने महर्षि महेश योगीको दृष्टिकोण थियो। ५० वर्षअघि नेपाल आएका महर्षि योगीले नेपालले संसारको नेतृत्व लिन सक्ने धारणा व्यक्त गरेका थिए। सोही विषयबारे स्पष्ट गराउँदै डा हेगलिनले यसका रणनीति प्रस्तुत गरेका थिए।
अमेरिकास्थित ट्रान्सेन्डेन्टल मेडिटेसन अर्गनाइजेसनका निर्देशकसमेत रहेका डा. हेगलिनले नेपाललाई विश्वको नेतृत्व लिन सक्ने बनाउनका लागि आफूहरूले योगविज्ञान र यज्ञयज्ञादिका विषयलाई मुख्य रूपमा जोड दिएको बताए । फाउन्डेसनले चम्पादेवीमा क्याम्पस स्थापना गरेको छ। क्याम्पसमा यज्ञ र योगका विषय अध्ययन अध्यापन हुँदै आएका छन्।
महर्षि महेश योगी नेपाल आएको ५० वर्ष पुगेको अवसरमा आयोजित महायज्ञमा उनले नेपालले मात्र प्राचीन वैदिक ज्ञान बुझ्न सक्ने भएकाले विश्वको नेतृत्व गर्न सक्ने क्षमता पनि नेपालसँग भएको बताए।
विज्ञान, प्रविधि र सार्वजनिक नीति अध्ययन संस्थानका निर्देशक वैदिक ज्ञानको सदुपयोग गर्न सकेन संसारलाई नेतृत्व गर्ने क्षमता विकास गर्न नेपालका लागि टाढाको कुरा नभएको उल्लेख गरे।
विश्वलाई पूर्णरूपमा स्वस्थ बनाएर विश्वमा शान्ति स्थापना गर्न सकिन्छ भन्ने कुरा महर्षि योगीले पनि भनेको कुरालाई आफूहरूले पटक-पटक दोहोर्याउँदै आएको बताए।
क्वान्टम फिजिक्सका अध्येता डा. हेगलिनले आयुर्वेद र भौतिकशास्त्रका समानता पनि केलाए। कार्यक्रममा वैदिक ज्ञान प्रणालीमा रहेर विभिन्न क्षेत्रका काम गरिरहेका व्यक्तित्वले वैदिक ज्ञान, योग र यज्ञादिका विषयमा धारणा प्रस्तुत गरेका थिए।
महायज्ञमा १ हजार १११ जनाले रुद्रि पाठ पारायण गर्न सुरु गरेका छन्। कार्यक्रम कात्तिक २५ गते समापन हुने फाउन्डेसनका अध्यक्ष दीपक बास्कोटाले जानकारी दिए।