१५ आश्विन २०८१, मंगलबार

नेपालपत्र डायरी : आज दिनभरका मुख्य १० समाचारहरु


नेपालपत्र डायरी : आज दिनभरका मुख्य १० समाचारहरु

काठमाडौँ । आज मिति २०८१ साल असोज महिनाको १५ गते मंगलबार । आज दिनभर भएका घटनाहरुका मुख्य १० समाचारहरुसहित ‘नेपालपत्र डायरी’ लिएर आएका भएका छौँ :

१. अन्तत: रिहा भए मेडिकल व्यवसायी दुर्गा प्रसाईं

डिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनी आज मंगलबार बेलुका रिहा भएका हुन् ।

काठमाडौँका जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले दुई वटा मुद्दामा ५०/ ५० हजार धरौटीमा छाड्न आदेश दिएका थिए । यसअघि प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको थियो ।

२. प्रधानमन्त्रीद्वारा राहत, उद्धार र पुनःस्थापनामा जुट्न सबैलाई आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण विपद्ले सिर्जना गरेको विषम परिस्थितिमा राहत तथा उद्धारमा सहयोग गर्न सरकारी तथा निजी क्षेत्र सबैलार्ई आह्वान गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिराले ठूलो धनजनको क्षति पुर्‍याएको उल्लेख गर्दै उद्धार पुनःस्थापना र पुनःनिर्माणमा जुट्न सबैलाई आह्वान गरे ।

३. यथाशीघ्र उद्धार कार्यसम्पन्न गर्न सरकारसँग कांग्रेसको माग

नेपाली काँग्रेसले बाढीपहिरोका कारण बीच बाटोमा अलपत्र परेका यात्रुको यथाशीघ्र उद्धार गर्न आग्रह गरेको छ । काँग्रेस संसदीय दलको आज बसेको बैठकले आफ्नो सम्पूर्ण संयन्त्र परिचालन गरी उद्धार कार्य यथाशीघ्र सम्पन्न गर्न सरकारसँग माग गरेको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।

उनले कैयौँ नागरिक अझै पनि देशका विभिन्न भागमा उद्धारको प्रतीक्षामा रहेका र गन्तव्यका लागि हिँडेका यात्रु बीच बाटोमा अलपत्र परेका समाचार आइरहेकाले उद्धार कार्य यथाशीघ्र सम्पन्न गर्न माग गरिएको बताए।

४. राज्य व्यवस्था समितिमा सांसदको प्रश्न : विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?

सांसदहरूले विपद् प्रतिकार्यमा किन कमजोरी भयो भनी सरकारसँग प्रश्न गरेका छन्। राज्यव्यवस्था समितिको आजको बैठकमा उनीहरूले विपद्पछिको खोज, उद्धार र राहत वितरणको काम प्रभावकारी हुन नसकेको उल्लेख गरे।

बाढीपहिराका कारण अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्न नसक्दा अझै पनि नागरिकहरू सडकमा अलपत्र परेका जनाउँदै उनीहरूले अलपत्र नागरिकलाई यथाशीघ्र उद्धार गरी गन्तव्यमा पुर्‍याउन सरकारले ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए।

५. सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले सबै प्रदेशमा मुटु रोग उपचारका लागि संयन्त्र विस्तार गर्ने भएको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आज बसेको सञ्चालक समिति बैठकले सङ्घीय राजधानी काठमाडौँबाट उपलब्ध मुटु रोग उपचार सेवा सबै प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो ।

मन्त्रालयको योजनानुसार मुटु रोग उपचार सेवा विस्तार गर्ने निर्णय गर्दै यसका लागि आवश्यक प्रक्रियाअघि बढाउन निर्देशन दिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा अब केन्द्रले बागमतीबाहेक थप ६ प्रदेशमा सेवा विस्तारको काम अघि बढाइने छ ।

६. देशभर बाढी-पहिरोबाट १७ अर्बभन्दा बढीको क्षति

प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानबाट प्रभावित भएकाहरूलाई राहत रकम वितरण सुरु भएको तथा खोज, उद्धारको कार्य दुई दिनभित्र पूरा गरिने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको पत्रकार सम्मेलन प्रधानमन्त्री ओलीका तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले प्रस्तुत गरेको प्रेस विज्ञप्तिमा विपद्का कारण १७ अर्बभन्दा बढीको क्षति भएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा भौतिक क्षतितर्फ खानेपानी ३ अर्ब ५५ करोड, सडकतर्फ २ अर्ब ५२ करोड, ऊर्जातर्फ ४ अर्ब, र सिँचाइतर्फ १ अर्बको क्षति भएको प्रारम्भिक अनुमान रहेको सरकारले जनाएको छ ।

बाढी पहिरोबाट ३७ वटा राजमार्ग अवरुद्ध भएकोमा ९ वटा सञ्चालन आइसकेको सरकारले जनाएको छ । त्यस्तै ३४ निर्माणाधीन जलविद्युत आयोजनाहरूमा क्षति पुगेको छ भने कृषितर्फ ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको सरकारले जनाएको छ ।

७. बाढी-पहिरो र डुवानमा परी मृत्यु हुनेको संख्या २२४ पुग्यो

गत बिहीबार रातिदेखि शनिबारसम्मको अविरल वर्षापछिको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २२४ पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यसचिव एकनारायण अर्यालले विपतका घटनामा भएको धनजनको क्षतिबारे जानकारी दिएका हुन् ।

आज मंगलबार दिउँसोसम्म २२४ जनाको मृत्यु, २४ बेपत्ता, १५८ घाइते भएका जानकारी दिए । २१ जिल्ला प्रभावित भएको र ४ हजार ३३१ जनाको उद्धार गरी सुरक्षित क्षेत्रमा पठाइएको बताइएको छ ।

८. एमालेद्वारा दैवी प्रकोप उद्धार कोषमा ५० लाख प्रदान गर्ने निर्णय

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठकले रु ५० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिक रुपमा रु एक अर्ब उक्त कोषमा दाखिला गर्ने निर्णय गरेको थियो ।

बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैलाई उद्धार तथा राहतका काम जुट्न आह्वान गरेका छन् ।

९. जलवायु परिवर्तनका असर घटाउन प्रविधि हस्तान्तरणमा जोड

कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले जलवायु परिवर्तनका कारण देशको कृषि क्षेत्रमा प्रभावित भएको बताएका छन् । साथै उनले जलवायु परिवर्तनका असर घटाउन प्रविधि हस्तान्तरणमा जोड दिएका छन् ।

अन्तरराष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)ले आज यहाँ आयोजना गरेको अन्तरराष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै मन्त्री अधिकारीले जलवायु परिवर्तनको सामनामा पर्वतीय खाद्य प्रणालीको दिगोपनलाई सम्बोधन गर्न सबै एकै ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याए ।

१०. नेप्से परिसूचकमा आज ११४ अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ११४ दशमलव ७० अङ्कले बढेको हो । चार दशमलव ५७ प्रतिशतको वृद्धिपछि परिसूचक दुई हजार ६२३ दशमलव ५६ को अङ्कमा कायम भएको छ ।

आज तीन सय सात कम्पनीका एक करोड ७५ लाख सात हजार ५५५ कित्ता शेयर ९६ हजार ९०६ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ६१ करोड ६५ लाख २२ हजार २५८ बराबरको कारोबार भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !