८ आश्विन २०८१, मंगलबार

संविधान संशोधनमार्फत अधिकारको दायरालाई अझै फराकिलो पार्नेछौँ : कानुनमन्त्री चौरसिया


अजयकुमार चौरसिया फाइल फोटो

वीरगञ्ज, पर्सा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संविधान संशोधनमार्फत मधेशी, दलित, जनजाति र मुस्लिम समुदायको अधिकारको दायरालाई अझै फराकिलो पार्दै लैजाने बताएका छन् ।

यहाँस्थित पटेवा सुगौली गाउँपालिकाको नवनिर्मित आधारभूत अस्पताल भवनको उद्घाटन कार्यक्रममा मन्त्री चौरसियाले भने,“मधेशी समुदायको अधिकार स्थापनाका लागि आफूले प्रतिनिधित्व गरेको पार्टी नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका खेल्दै आएको छ”, उनले भने,“सरकारको प्रमुख साझेदारको हैसियतले आगामी दिनमा पनि समानुपातिक समावेशिताका सवाललाई रक्षा गर्न हाम्रो पार्टी र सरकार कटिबद्ध भएर लाग्नेछ ।”

मन्त्री चौरसियाले परिवर्तन र पटक–पटक जनअधिकार खोस्ने प्रयासका विरुद्ध सङ्घर्ष गरेर आएका पार्टी कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को गठबन्धन सरकारले जनअधिकारलाई थप सुनिश्चित गर्न कुनै कसर बाँकी नराख्ने धारणा राखे ।

मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जर्नादनसिंह क्षेत्रीले पर्साका ग्रामीण क्षेत्रका जनतालाई कृषिमा सहुलियत र थप अनुदान बढाउनुपर्छ भन्नेमा आफूहरू रहेको बताए । “यस विषयमा प्रदेश सरकारले मात्रै चाहेर हुँदैन । सङ्घीय सरकारले यहाँका कृषकको जीविकोपार्जन र कृषिलाई आत्मनिर्भर गराउने योजना ल्याउन जरूरी भएको छ । यस कार्यमा प्रदेश सरकार सङ्घीय सरकारसँग हातेमालो गरेर अघि बढ्न चाहन्छ”, उनले भने ।

कार्यक्रममा पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरीले नेपाली कांग्रेस नेतृत्वमा रहँदा पर्सा जिल्लामा सडक र अन्य पूर्वाधार निर्माण गरेर जनतालाई सहज ढङ्गले यात्रा गर्ने वातावरण बनाएको दाबी गरे ।

मधेश प्रदेशसभा सदस्य कृष्णप्रसाद यादवले केन्द्र र प्रदेशमा कांग्रेसकै नेतृत्वमा कृषि मन्त्रालय रहेकाले कृषि क्षेत्रलाई थप चलायमान र उत्पादनमूलक बनाएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । पूर्वमन्त्री उमाकान्त चौधरीले कांग्रेसले स्थापनाकालदेखि नै मधेशको हित र विकासमा काम गर्दै आइरहेको र अब थप भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

संविधानसभा सदस्य अनिल रुगताले औद्योगिक नगरी वीरगञ्जमा आर्थिक गतिविधि सुस्त हुनुले देशको अर्थतन्त्रको अवस्था देखाउने र यसलाई चलायमान गराउने गरी सरकारले आवश्यक काम गर्न जरूरी रहेको बताए ।

कांग्रेस केन्द्रीय सदस्य आनन्द ढुङ्गाना सुनकोशी मरिण डाइभर्सन सिँचाइ आयोजनाले मधेसको कृषि र उत्पादन वृद्धिमा आमूल परिवर्तन गर्ने विश्वास व्यक्त गरे । उनले चुरे क्षेत्रलाई अतिक्रमणबाट जोगाउँदै मरुभूमीकरण हुनबाट रोक्न सबै मिलेर अगाडि बढ्नुपर्ने धारणा राखे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !