६ आश्विन २०८१, आइतबार

संविधानसम्मत जिम्मेवारी नै प्रधानसेनापतिको प्रमुख प्राथमिकता’


अशोकराज सिग्देल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, साङ्गठनिक सुदृढीकरण, राष्ट्रिय गौरवका आयोजना र कल्याणकारी कार्यलाई उच्च प्राथमिकता दिने स्पष्ट सङ्केत गरेका छन् ।

प्रधानसेनापतिमा नियुक्त भएपछिको पहिलो सम्बोधनमा महारथी सिग्देलले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको प्रमुख कार्य भएको स्पष्ट पारे । भूकम्प र कोभिड–१९ महामारीलगायत प्राकृतिक विपत्तिमा परेका नागरिकको खोज, उद्धार, राहत र उपचारमा राष्ट्रिय एकताका साथ गरिएको कार्यले उत्प्रेरणा प्रदान गर्दै असल नतिजा प्राप्त गर्न सकिएको सेनाको ठम्याइ छ ।

‘गौरवका आयोजनामा ढिलासुस्ती र अनियमिता अस्वीकार्य’

वर्तमान सैनिक नेतृत्वलाई पूर्वाधार निर्माणका हिसाबले काठमाडौँ–तराई-मधेस द्रुतमार्ग र प्रतिरक्षा विश्वविद्यालय निर्माणसम्बन्धी कार्यादेशमा अतिउत्तम अङ्क प्राप्त गर्नुपर्ने चुनौती छ । दुवै आयोजना महारथी सिग्देलकै कार्यकालभित्र पूरा गर्नुपर्ने कार्यदेशसमेत छ ।

सैनिक सङ्गठनभित्र कुनै पनि प्रकारका ढिलासुस्ती, अनभिज्ञता, अनियमिततालगायत क्रियाकलाप अस्वीकार्य हुने नेतृत्वबाट विचार सार्वजनिक भइसकेको छ । प्रधानसेनापति सिग्देल भन्छन्, ‘तहगत रूपमा तैनाथ कमाण्डरद्वारा आ–आफ्नो जिम्मेवारी क्षेत्रभित्र रहेका सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग सैनिक मर्यादाभित्र रही समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाइनेछ ।’

संविधान, नेपाली सेनाको मूलग्रन्थ, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय प्रतिरक्षा नीति, नेपाली सेना दीर्घकालीन सोचका आधारमा सङगठनको सुदृढीकरण गर्दै लैजाने वर्तमान सैनिक नेतृत्वको अठोट छ । देशको सुरक्षा, प्रतिरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा साझा बुझाइ र समान धारणा विकास गर्ने हेतुले प्रतिरक्षा विश्अघि बढाइएको हो । राष्ट्रिय हित र सुरक्षालाई केन्द्रमा राखी राष्ट्रको परराष्ट्र नीतिलाई टेवा पुर्याउन तथा सैनिक कूटनीतिलाई थप प्रभावकारी बनाउँदै लगिने उनले स्पष्ट पारेका छन् ।

प्रधानसेनापतिले राष्ट्रिय सुरक्षा, साङ्गठनिक सुदृढीकरण तथा व्यवस्थापन, अपरेसनल क्षमताको विकास, सैनिक सूचना प्रणालीको प्रभावकारिता, समयसापेक्ष तालिम तथा शिक्षा प्रणाली, सबल बन्दोबस्ती र कल्याणकारी कार्यको दिगोपना तथा सेवाविस्तारजस्ता महत्त्वपूर्ण क्षेत्रबारे प्राथमिकता निर्धारण गर्न मार्गनिर्देशन जारी गर्दैछन् ।

सेनाका प्रवक्ता गौरवकुमार केसी वर्तमान नेतृत्वले व्यावसायिक चरित्र, अनुशासन र ‘चेन अफ कमाण्ड’का आधारमा संस्थागत सुदृढीकरणलाई उच्च प्राथमिकताका साथ कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गर्छन् । सेनालाई आधुनिकीकरणतर्फ अघि बढाउन तालिम तथा बन्दोबस्तीका सामग्री चुस्त तुल्याउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर कार्यसम्पादनलाई उत्तिकै प्राथमिकता राख्ने विषय प्रधानसेनापतिको पहिलो सम्बोधनमा व्यक्त भएको उनले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !