१३ आश्विन २०८१, आइतबार

बाढीले अटोरिक्सा बगाउँदा दुईजना बेपत्ता, चालकको उद्धार


बाढीले अटोरिक्सा बगाउँदा दुईजना बेपत्ता, चालकको उद्धार दाङको कालाखोलाले शुक्रबार राति बगाएको रा १ ह २३५७ नम्बरको अटो रिक्सा । अटोसँगै बगेका चालक तुलसीपुर-७ प्रसेनी निवासी दुर्गा पुनको शुक्रबार रातिनै सकुशल उद्धार गरिएको थियो । तस्बिरःदीपक बोहरा / रासस

तुलसीपुर, दाङ । दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको बेचनी खोलाले आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाएको छ ।

तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर–४ स्थित बेचनी खोलाले बगाउँदा दुईजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय ५५ वर्षीया सीता आले र सुर्खेत घर भई सोही ठाउँ बस्ने १६ वर्षीया मन्जु खड्का रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

चालकको उद्धार

यसैबीच दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलाको बाढीले गएराति तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा१स २३५७ नम्बरको अटोरिक्सा बगाएको छ ।

बाढीले बगाएका तुलसीपुर–७ प्रसेनी घर भएका चालक २२ वर्षीय दुर्गा पुनको राति नै उद्धार गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए । अत्यधिक वर्षाका कारण कालाखोलामा बाढी सडकमाथि भएर बगेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !