४ आश्विन २०८१, शुक्रबार

नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सिग्देललाई


अशोकराज सिग्देल

काठमाडौं । नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिमा वरिष्ठ रथी अशोकराज सिग्देल तोकिएका छन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज बुधबार सिग्देललाई कायममुकायम प्रधानसेनापति तोकेका हुन् ।

बलाधिकृत सिग्देललाई हाल ज्येष्ठताका आधारमा मन्त्रिपरिषद्को सिफारिसमा साउन २५ गतेदेखि लागू हुनेगरी कामु प्रधानसेनापति तोकिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सिग्देल सैनिक ऐन २०६३ को दफा ८ को उपदफा ३ बमोजिम साउन २५ गतेदेखि लागु हुने गरी कायममुकायम भई प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरी तोकिएका हुन् । अहिलेका प्रधानसेनापति प्रभुराम शर्माको ३ वर्षे कार्यकाल भदौ २४ गते सकिँदैछ ।

एक महिनाअघि बिदा बस्ने सैनिक परम्परा भएकाले सरकारले सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएको हो । स्थायी घर भैरहवा भएका सिग्देल ३७ वर्षअघि सैनिक सेवामा प्रवेश गरेका थिए ।

उनले रणनीतिक अध्ययनमा त्रिभुवन विश्वविद्यालय र चीनको राष्ट्रिय डिफेन्स युनिभर्सिटीबाट स्नातकोत्तर अध्ययन गरेका छन् । उनले संयुक्त राष्ट्र संघको शान्ति मिसनका क्रममा युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरियामा काम गरेका छन् ।

 

यस्तो छ हेर्नुहोस् राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति

यस्तो छ हेर्नुहोस् राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !