२२ भाद्र २०८१, शनिबार

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध


कालीगण्डकी करिडोर फाइल फोटो

ढोरपाटन, बागलुङ । अविरल वर्षाका कारण कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ । दुई दिनदेखिको निरन्तर वर्षाका कारण उक्त करिडोरको बागलुङ र पर्वत खण्डमा सडक अवरुद्ध भएको हो ।

बागलुङको जैमिनी नगरपालिका–बिनामारे क्षेत्रमा पहिरो झर्दा कोरिडोर अवरुद्ध भएको छ । कोरिडोर अवरुद्ध हुँदा जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारे लगायतका स्थानदेखि जिल्ला सदरमुकाम बागलुङ बजार आउने सावारीसाधान बाटोमै ठप्प रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए । भारी वर्षाका कारण सडक खुलाउने कार्यमा बाधा पुगेको छ ।

“लगातार वर्षा भइरहेकाले पहिरो झर्ने क्रम रोकिएको छैन”, प्रहरी नायव उपरीक्षक यादवले भने । वर्षाका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको बडिगाड गाउँपालिका–२ डुडियामा भने यातायात सञ्चालनमा आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !