काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको विवादसम्बन्धी रिटमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । सर्वोच्चले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति विवादमा एकल इजलासबाट जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय सुनाएको हो ।
न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासले यही असार १८ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश गरेको हो ।
सर्वोच्चको यो आदेशपछि यसअघि भएको खारेज प्रक्रिया बदर हुँदै पुरानै प्रक्रियालाई निरन्तरता दिँदै अघि बढाउनुपर्ने भएको छ। सर्वोच्चको यो अन्तरिम आदेशसँगै धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने सरकारको निर्णयमा रोक लागेको छ ।
अब आवेदन दिएर अन्तर्वार्ता र प्रस्तुतिमा संलग्न भएका दुईजनामध्येबाटै अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्ने छ । बोर्डको अध्यक्ष सिफारिस समितिले पाँचजनाको नाम सर्ट लिष्ट गरेको थियो ।