१४ असार २०८१, शुक्रबार

मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


डा. बैकुण्ठ अर्याल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले मुख्यसचिव डा. अर्यालसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव डा. अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । अख्तियारले मुख्यसचिव अर्यालसहित ११ जना र एक कम्पनी गरी १२ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

स्टिकर प्रकरणमा मुख्यसचिव अर्यालसहित सहसचिवद्वय रितेश शाक्य र टंक पाण्डे, उपसचिव गणेशविक्रम शाही र शाखा अधिकृत रविन्द्र पौडेललाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।

यसअघि नै भ्रष्टाचार मुद्दा दोषी ठहर र केही मुद्दामा विचाराधीन रहेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, सुरक्षण मुद्रणकै तत्कालीन लेखा अघिकृत विष्णुप्रसाद गौतम शाखा अधिकृत हरिवल्लभ घिमिरे, केन्द्रका तत्कालीन परामर्शदाता शक्तिप्रसाद श्रेष्ठविरुद्ध मुद्दा दायर भएको छ । स्टिकर छपाइको जिम्मा पाएको कम्पनी प्रिन्टसेल र यसका सञ्चालक केशव शर्मालाई पनि प्रतिवादी बनाइएको छ ।

अख्तियारले अर्यालले सञ्चार सचिव हुँदा गरेको निर्णयले मुलुकको राज्यकोषमा हानि नोक्सानी पुगेको निष्कर्षसहित मुद्दा दायर गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रकरण र सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्कको स्टिकर खरिद गर्ने निर्णयमा अर्यालको संलग्नता पुष्टि भएको अख्तियारले निष्कर्ष निकालेको हो ।

बहालवाला मुख्यसचिवविरुद्ध नै भ्रष्टाचार मुद्दा लागेको यो नेपालको पहिलो घटना हो । मुख्य सचिव अर्याल नेपाल टेलिकमको टेरामक्स प्रविधि खरिदको सम्बन्धमा पनि मुछिएका व्यक्ति हुन् । यसबारेमा पनि अख्तियारले अनुसन्धान जारी राखेको छ ।

तत्कालीन मन्त्रीहरु ज्ञानेन्द्रवहादुर कार्की र मोहन बस्नेतमाथि मुद्दा चलाउने सन्दर्भमा आयोगका आयुक्तहरु विभाजित देखिएका छन् । अख्तियारले टेरामक्स प्रकरणमा उजुरी परेपछि नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षहरु दिगम्बर झा, पुरुषोत्तम खनाल लगायतले गलत ढंगले खरिद प्रक्रिया अघि बढाएको निष्कर्ष निकालेर उनीहरुविरुद्ध एमडिएमएस प्रकरणमा मुद्दा चलाइसकेको छ । टेरामक्स निर्णय प्रक्रियामा तत्कालीन संचार सचिवहरु डा. अर्याल, विनोद प्रकाश सिंह, हरि बस्याललगायत पनि मुछिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !