१२ असार २०८१, बुधबार

मल्कवाङमा नौमती बाजा बजाउन तालिम


मल्कवाङमा नौमती बाजा बजाउन तालिम

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका २६ जनालाई नौमती बाजा बजाउने र पुख्र्याैली नाचसम्बन्धी तालिम दिइएको छ । मौलिक लोकबाजा, कला र संस्कृतिको संरक्षणका लागि पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले धवलागिरि गाउँपालिकाको आर्थिक सहयोगमा वडा कार्यालयले तालिम सञ्चालन गरेको हो । असार १ गते शनिबार सुरु भएको तालिम सोमबार सकिएको वडासचिव बेदनाथ सुवेदीले जानकारी दिए ।

संस्कारगत कार्य, सभा, समारोहमा नौमती बाजा बजाउने र पुख्र्याैली नाच्ने कलाकार अभाव हुन थालेपछि युवायुवतीलाई तालिम दिइएको उनले बताए । मल्कवाङ अल्पसङ्ख्यक छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको बस्ती हो । यहाँ मगर र दलित समुदायको पनि बसोबास छ ।

पुख्र्यौैली नाच्ने र सोरठी गाउने छन्त्याल र मगर समुदायको मौलिक परम्परा हो । पछिल्लो समय वैदेशिक रोजगारीका कारण पलायन हुने र पुराना पुस्ताका कलाकार निधन भएपछि पुख्र्यौली नाच सञ्चालन गर्न कलाकारको अभाव हुन थालेपछि नयाँ पुस्तालाई सिकाइएको धवलागिरि–५ का वडाध्यक्ष अमर छन्त्यालले बताए ।

एघार जना सहभागी नौमती बाजा तालिमको दीपेन्द्र परियार र जीवन परियारले सहजीकरण गरेका थिए । उनीहरूले दमाह, कर्णाल, ढोलकी, सहनै, ट्याम्को, झ्याली, नरसिङ्गालगायत बाजा बजाउने सीप सिकाएका थिए ।

सोह्र जना सहभागी पुख्र्याैली नाच तालिममा दिलीप छन्त्यालले सोरठी गाउने, सरस्वती जगाउने, सुख र दुःखको अवस्थामा नाच्ने तरिका सिकाउनुभएको थियो । कछाड, सर्ट, पेटी, भाङ्ग्रा, टोपीमा सजिएर कम्मरमा मादल भिरेर नाच्नेलाई मादले भनिन्छ । महिला र पुरुषको समूहले सोरठी गीत गाउँछन् ।

मादलेसँगै नाच्ने मारुनीले गुनियो, टिकिया, पटुकी, पछ्यौरी, कानमा ढुङ्ग्री, पोते, कन्ठीलगायत गहना लगाउँछन् । मौलिक कला, संस्कृति संरक्षण गर्न गत वर्ष मल्कवाङका नौमती बाजा खरिद गरेर उपलब्ध गराइएको थियो । यसपालि पोशाक उपलब्ध गराइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !