४ असार २०८१, मंगलबार

कारसँग बस ठोक्किएर त्रिशूली किनारमा खस्यो, २० जना घाइते


कारसँग बस ठोक्किएर त्रिशूली किनारमा खस्यो

मलेखु, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ ।

नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ । काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किँदा बस नदी किनारमा खसेको हो ।

कारलाई जोगाउन खोज्दा बस नदीमा किनारमा खसेको एकजना प्रत्यक्षदर्शीले राससलाई बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँचजना गम्भीर घाइते छन् । बसमा ४५ जना यात्री थिए ।

सबै यात्रीको अवस्था सामान्य छ । गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !