१७ असार २०८१, सोमबार

रुइसे र दर्मीजामा औंद्योगिक ग्राम स्थापना


Nepalpatra

३ असार, बाबियाचौर म्याग्दी । रघुगंगा गाउँपालिकाको रुइसे र दर्मीजामा औंद्योगिक ग्राम स्थापनाका गरिने भएको छ ।

रघुगंगाको नं वडा २ भगवतीमा पर्ने रुइसेमा आंैद्योगिकग्राम स्थापनाका लागि प्रदेश नं ४ को उद्योग, वन तथा वातावरण मन्त्रालयमा उक्त गाउँपालिकाले प्रस्ताव गरेकामा प्रदेश सरकारको बैठकले उक्त ग्राम स्थापनाका लागि रुइसेको विकल्पमा दर्मीजालाई वैकल्पिक स्थानको रुपमा सिफारिस दिएको हो ।
मन्त्रालयको परिपत्र अनुसार पाँच सय रोपनी जग्गा उपलब्ध भएको स्थान छनोट गरी उक्त ग्राम स्थापनाका लागि कार्यपालिकाको बैठकले निर्णय गरी सिफारिस गरेको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । प्रदेश नं ४ को संसद्मा शुक्रबार प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटमा एक स्थानीय तह एक औंद्योगिक ग्राम कार्यक्रमका लागि रु १२ करोड विनियोजन भएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षका लागि बजेट विनियोजन गरेका १४५ वटा पूर्वाधार सम्बन्धी योजनामध्ये २०७५ जेठ मसान्तसम्म १३१ वटा सम्पन्न भइसकेको प्रमुख प्रशासकीय अधिकृत नारायण चापागार्इंले बताउनुभयो ।

रु २४ लाख राजश्व संकलन गर्ने लक्ष्य राखेको गाउँपालिकाले वडा कार्यालयमार्फत उद्योग, फर्म र पसल दर्ता शुरु गरेको छ । पसल, व्यवसाय दर्ताका लागि रु दुई हजार शुल्क निर्धारण गरिएको छ । सवारी शुल्क, उद्योग, पसल, व्यवसाय दर्ता, सिफारिस दस्तुर र सवारी शुल्कलाई गाउँपालिकाले आन्तरिक आयस्रोत बनाएको छ ।

थप आम्दानीको स्रोत पहिचान गरी करको दायरामा ल्याउने गाउँपालिकाका उपाध्यक्ष कमला तिलीजाले बताउनुभयो । उहाँका अनुसार आगामी आर्थिक वर्षमा गाउँपालिका– ८ वटै वडामा एउटा गौरबको योजना सञ्चालन गर्ने तयारी गरिएको छ । गाउँपालिकाको बस्तुगत विवरण समेत तयार भइसकेको छ ।

स्थानीय सरकार सञ्चालन सम्बन्धी १३ वटा कार्यविधि तथा कानून निर्माण गरिएको छ । आगामी आर्थिक वर्षमा पूर्वाधार सम्बन्धी रु तीन लाख भन्दा कम बजेटका योजना छनोट नगर्ने निर्णय भएको छ ।

टुक्रे योजनालाई निरुत्साहित गरी धेरै बस्ती र जनसंख्यालाई फाइदा पुग्ने प्रभावकारी किसिमका योजना सञ्चालन गर्ने नीति लिइएको अध्यक्ष भण्डारीले बताउनुभयो । वडालाई रु ३३ लाखदेखि ४४ लाखभित्रको सिलिङमा रहेर योजना छनोट गर्न निर्देशन दिइएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !