१२ श्रावण २०८१, शनिबार

भारतीय गाडीमा एक करोड ८२ लाख नेपाली नक्कली नोट बरामद


नक्कली नोट बरामद

विराटनगर । भारतीय नम्बर प्लेटको गाडीमा एक करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला परेको छ । सुनसरी प्रहरीले भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा एक करोड ८२ लाख ५१ हजार रुपैयाँ बराबरका एक हजार रुपैयाँ दरका नेपाली नक्कली नोट बरामद गरेको हो ।

इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिक गाडी खानतलासी गर्दा नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले नक्कली नोटसँगै बिहारका २२ वर्षीय भारतीय नागरिक मोहमद सैयद पनि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विपीन रेग्मीका अनुसार नक्कली नोटसहित भारतको बीआर११एक्स ३४२९ नम्बरप्लेटको स्कोरपियो र चालकलाई नियन्त्रणमा लिइएको छ । पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गर्ने तयारी गरिएको एसपी रेग्मीले बताए ।

गाडीमा सवार अर्का व्यक्ति भने फरार छन् । शंकास्पद अवस्थाको स्कोरपियो गाडीमा खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोटहरु बरामद भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !