मनहरी । सङ्घीय संसद्का सभामुख देवराज घिमिरेले श्रमको मूल्य र महत्व पहिचानको अभाव भइरहेको बताएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिकाले आयोजना गरेको अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा योजनाको शुभारम्भ कार्यक्रममा उनले श्रमको उचित मूल्य र महत्व पहिचान गरी सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने बताए ।
उनले श्रमिकको सामाजिक उत्थान गराउन कोषमा आबद्ध गराउन तीनै तहका सरकारले पहलकदमी लिनुपर्ने बताउनुभयो । कोषमा हालसम्म रु ५१ अर्ब २९ करोड सङ्कलन भएको उनले बताए ।
सभामुखका अनुसार राज्यले कमजोर नागरिकलाई आर्थिक सहायता दिन र सामाजिक सुरक्षा प्रदान गर्न उक्त योजना ल्याएको हो । कोषले श्रमिकको जीवनलाई सार्थक बनाउन र आवश्यक सेवा सुविधा उपलब्ध गराउन फलदायी रहेको उनले बताए ।
सङ्घीयतालाई सही ढङ्गबाट कार्यान्वयन गर्न सकेको खण्डमा मुलुकको समृद्धि सम्भव रहेको र सङ्घीयता कार्यान्वयनको चरणमा तीनै तहका सरकार गम्भीर भएर अघि बढ्नुपर्ने उल्लेख गरे । उनले नागरिकको हकअधिकार र सेवा प्रवाहका विषयमा सही ढङ्गबाट काम गर्न कुनै पनि कानुनले बाधा नपर्ने बताए । सही नियतले प्रभावकारी योजना बनाएर कार्यान्वयनका अघि बढ्न आग्रह गरे ।
सभामुख घिमिरेले सामाजिक सुरक्षा कोषका विषयमा श्रमिक र रोजगारदाता संस्थाहरु जानकारी गराएर आबद्ध गराउनुपर्नेमा जोड दिए । राज्यले लिएको नीतिलाई कार्यान्वयनको पहल गरेको भन्दै उहाँले भीमफेदी गाउँपालिकाको प्रशंसा गरे ।
नेकपा एमालेका सचेतक महेश बर्तौलाले सामाजिक सुरक्षा कोषमा सङ्घीय र प्रदेश सरकारको लगानी गर्नुपर्ने बताए । सामाजिक सुरक्षा योजनाको स्थायित्व र निरन्तरताका लागि तीनै तहका सरकारको लगानी र श्रमिकको सहलगानी जरुरी रहेको उनले बताए ।
उनका अनुसार सङ्गठित र औपचारिक क्षेत्रमा २७ लाख श्रमिकमध्ये हालसम्म चार लाख ७८ हजार श्रमिक आबद्ध रहेको र सामाजिक सुरक्षा कोषमा हालसम्म देशभरका एक सय १३ रोजगार दाता संस्थाहरु दर्ता भएका छन् ।