१३ आश्विन २०८१, आइतबार

लमजुङमा आगलागी हुँदा एक महिलाको मृत्यु


आगलागी

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, स्यागेमा एक घरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ । गएराति अचानक घरमा आगलागी हुँदा ४४ वर्षीया सन्तमाया श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक श्रेष्ठका श्रीमान् ४५ वर्षीय राजेन्द्र श्रेष्ठ भने भागेर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए ।

स्थानीय र प्रहरीले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि घर समेत जलेर नष्ट भएको उनको भनाइ छ । श्रेष्ठ परिवार बेँसीसहर नगरपालिका–२ घर भई करिब ११ वर्षदेखि उक्त स्थानमा किराना र कपडा पसल सञ्चालन गर्दै आएको थियो ।

बाहिर फलामको खामोसहित सटर र जस्तापाताको छानो रहेको घरका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । क्षतिको मुचुल्का उठाउने कार्य भइरहेको छ । चारजनाको परिवार रहे पनि श्रीमान् र श्रीमती मात्रै बस्दै आएको र छोराछोरी काठमाडौंमा बस्दै आएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !