१२ असार २०८१, बुधबार

चितवनका ५०० भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र


लालपुर्जा फाइल फोटो

नारायणगढ, चितवन । चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको छ ।

यहाँका भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका ती परिवारलाई पुर्जा वितरण गर्न लागिएको हो । राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाका अनुसार ती पालिका बसोबास गर्ने सुकुम्बासीलाई प्रमाणपत्र वितरणको तयारी अन्तिम चरणमा पुगेको हो ।

उनले भने, “सरकारले कानुन संशोधनको तयारीमा रहेको जानकारी पाएका छौँ । संशोधन भए जिल्लाका अधिकांश भूमिहीनले जग्गाधनी प्रमाणपत्र प्राप्त गर्ने छन् ।” कानुनीरुपमा समस्या देखिएकाबाहेक अन्य सबै ठाउँमा कामलाई तीव्र गतिमा अघि बढाइएको छ ।

उनले भने, “अहिले हामीले पाँच सय परिवारलाई पुसको दोस्रो सातासम्ममा जग्गाधनी प्रमाणपत्र वितरण गर्ने गरी काम गरिरहेका छौँ ।” अहिले पुर्जा बनाउने र सूचना प्रकाशनको काम भइरहेको उनले बताए । जग्गा नाप्ने र स्थलगत अनुगमन सकिएको छ ।

यसअघि भरतपुर महानगरपालिका वडा नम्बर २, २९ र इच्छाकामनाका एक सय ५४ परिवारलाई प्रमाणपत्र वितरण गरिएको थियो । आयोगमा जिल्लाका १० हजार बढी सुकुम्बासीले आवेदन गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !