२६ जेठ, धनगढी । यहाँका साहित्यकार बेलाबखत एकै ठाउँमा जमघट भई गोलबन्द भएर पलेंटी कसेर बस्छन् । त्यसपछि शुरु हुन्छ, पालैपालो आआफ्नो रचना वाचन गर्ने सिलसिला । कसैले कविता, कसैले गजल त कसैले गीत वाचन गर्छन् ।
भाषा साहित्यको संरक्षणका लागि गरिने यस्तो बसाइले सर्जकको प्रतिभा प्रस्फुटन गराउन सहज मात्र भएको नभई समग्र रुपमा भाषा साहित्यको जगेर्नामा मद्दत पुगिरहेको साहित्यकारको भनाइ छ । साहित्यकार एनके जोशी भाषा साहित्यको संरक्षणका लागि गरिने यस्तो अभियानले साहित्यकारमा नयाँ ऊर्जा र जोश थपिदिएको अनुभव सुनाउनुहुन्छ । “सबैले आ–आफ्नो कविता, गजल, गीत एकअर्कालाई भन्न र सुनाउन पाउँछन्, यसबाट उनीहरुले आफ्नो रचना अरुलाई सुनाएर रहर मेटाउने अवसर पाउँछन्”, उहाँले थप्नुभयो ।
साहित्य सर्जकलाई आफ्नो सिर्जना सन्तानभन्दा बढी माया हुन्छ । “आफ्नो सिर्जना जति पटक पढे पनि धीत मर्दैन, चाँडोभन्दा चाँडो अरुलाई कतिबेला सुनाउने भन्ने कामना यो पलेटी शृङ्खलाले पूरा गरिरहेको छ”, जोशीले भन्नुभयो ।
युवा साहित्यिक व्यक्तित्वका पहलमा थालिएको अभियानमा सहभागी हुनेहरुले डोटेली, अछामी, राना थारु, डगौरा चौधरीजस्ता आफ्नै मातृभाषामा आआफ्ना रचना वाचन गर्न पाउँछन् । “कविता र गजलको रचना गर्न नसक्नेले गायनलगायत केही न केही रचना प्रस्तुत गर्नुपर्ने हुन्छ । पलेटी शृङ्खलामा सहभागी अर्का साहित्यकार जनक रसिकले भन्नुभयो, “पलेटी अभियानले साहित्यकारबीच निरन्तर भेटघाट र भालाकुसारी गर्ने अवसर दिएको छ ।”
कार्यक्रमको अन्त्यमा तोकिएका एक टिप्पणीकारले कार्यक्रमको अवधिमा वाचन भएका रचनाका बारेमा टिप्पणी गर्नुहुन्छ । टिप्पणीपछि कसको रचना राम्रो भयो, कमीकमजोरी के रह्यो, सुधार गर्नुपर्ने पक्ष के छ भन्नेबारेमा साहित्यकारलाई सच्चिने मौका प्राप्त हुन्छ । कार्यक्रमको संयोजन गर्नेले यसरी पलेंटी कसेर भेला हुनेका लागि खानाको व्यवस्थापनसमेत गर्छन् ।
पछिल्लो पटक कुनै पनि संस्थाले औपचारिक रुपमा साहित्यिक गतिविधिको आयोजना गर्ने क्रम घट्दै जाँदा पलेंटी कसेर बस्ने साहित्यिक अभियान चलेको छ । यसले साहित्यिक कार्यक्रमको आवश्यकतालाई पूरा गरिरहेको अनुभव साहित्यकारको छ । ‘माया, प्रीति, व्यङ्ग, विसङ्गति, विज्ञान प्रविधिलगायत जस्तोसुकै सिर्जना पोख्ने गरिएको छ”, वरिष्ठ साहित्यकार पदमराज जोशीले भन्नुभयो, “घर, पाटीपौवा, होटेल, चौर, शिवालय जहाँ अनुकूल हुन्छ त्यहीँ यस्तो कार्यक्रम हुने गर्छ ।”(रासस)