५ मंसिर २०८१, बुधबार

उपमहानगरबाट बालबालिकालाई पोशाक वितरण


dressss

२५ जेठ, बुटवल । बुटवल उपमहानगरपालिकाले विद्यालय भर्ना भएका अतिविपन्न समुदायका बालबालिकालाई विद्यालय पोशाक उपलब्ध गराएको छ ।

नयाँ शैक्षिक सत्रसँगै अभियानका रुपमा भर्ना कार्यक्रम चलाएको उपमहानगरले विद्यार्थीलाई विद्यालयमा टिकाउने उद्देश्यस्वरुप पोशाक वितरण गरेको हो ।

पहिलो चरणमा बुटवलको मैनावगरस्थित मैनावगर आधारभूत विद्यालयमा विपन्न बालबालिकालाई बिहीबार पोशाक वितरण गरिएको छ । बालबालिकालाई पायक पर्ने सामुदायिक विद्यालयमा भर्ना गराउने, उनीहरुलाई सिकाउने र टिकाउने अभियानस्वरुप नै पोशाक वितरण गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।

त्यस विद्यालयका ५९ जना बालबालिकालाई प्रमुख सुवेदीको नेतृत्वमा पोशाक वितरण गरिएको थियो । अतिविपन्न बालबालिकाको पहिचान गरेर ती बालबालिका अध्ययन गर्ने विद्यालयमा आवश्यक बजेट उपलब्ध गराउने गरी उपमहानगरले योजना बनाएको थियो । सोही आधारमा मैनाबगरको उक्त विद्यालयका बालबालिकालाई रु ३८ हजार बराबरको पोशाक वितरण गरिएको हो ।

वडा कार्यालय, टोल विकास समिति, नागरिक अगुवा र समाजसेवीसमेत शिक्षासँग सरोकार राख्ने सबैलाई सहकार्यमा लिएर अभियान प्रभावकारी बनाउन निर्देशन जारी गरिएको उपप्रमुख गुमादेवी आचार्यले बताउनुभयो ।

विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालय भर्ना नगराउने र भर्ना गराए पनि विद्यालय नपठाउने कुनै पनि अभिभावकको लगत संकलन गरेर कार्यालयमा पठाउन उपमहानगरले यसअघि नै वडा कार्यालयमा निर्देशन गरेको प्रमुख प्रशासकीय अधिकृत राजनकुमार बिसीले बताउनुभयो ।

बुटवलमा अहिले सामुदायिक विद्यालयको संख्या ३९ रहेको छ । प्रारम्भिक बालविकास कक्षा सञ्चालन हुने केन्द्रको संख्या ६१ र सामुदायिक सिकाइ केन्द्रको संख्या पाँच रहेको छ । यीमध्ये एउटा केन्द्र भने हाल बन्द छ । यस्तै, संस्थागत विद्यालयको संख्या ६२ रहेको छ । गत वर्षको तथ्यांकअनुसार बुटवलमा मात्रै यस्ता बालबालिकाको संख्या ४७२ रहेको छ ।

उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने अतिविपन्न बालबालिकालाई दैनिक खाजा खर्चसमेत उपलब्ध गराउँदै आएको छ ।

विद्यालयमा भर्ना भएका र नियमित रहेका सबै विपन्न बालबालिकालाई दैनिक रु २० का दरले अभिभावकमार्फत खाजा खर्च उपलब्ध गराउँदै आएको उपमहानगरको शिक्षा शाखाका प्रमुख उपसचिव लोकराज पन्थीले जानकारी दिनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !