१३ आश्विन २०८१, आइतबार

मुगुमा आमासहित तीन छोराछोरीको सामूहिक हत्या


हत्या

मुगु । मुगुमा एकै परिवारको चारजनाको शव फेला परेको छ । मुगुको छाँयानाथरारा नगरपालिका–६ मन्दुमा एउटै परिवारका आमासहित तीन छोराछोरीको शव फेला परेको हो ।

श्रीदवी बोहरासहित उनका दुई छोरा र एक छोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार छायानाथ रारा नगरपालिका-६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, आठ महिनाका छोरा रहर बोहोरा र ९ वर्षीया छोरी अप्सरा बोहोराको सामूहिक हत्या भएको हुनसक्ने बताएका हुन् ।

उनले घटनाको खबर पाउनासाथ आज बिहान ११ बजे घटनास्थलमा प्रहरी पुगेको बताए । घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दक्षिण पूर्वमा रहेको छ । हत्याको आशंका गरिएका चारैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा ल्याइएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार श्रीदेवी छोराछोरीसहित यही कात्तिक ७ गते बिहान दसैंको टीका थाप्न सोही वडा स्थित कोटिल्ला माइती गाउँ गएकी थिइन । यही कात्तिक ८ गते बेलुका घर फर्केका उनीहरुको सोही राति हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

छिमेकीहरुले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेत गरातिर गएका होलान् अनुमान लगाएका थिए । १० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरुले फेरि श्रीदेवी माइती गएकि भनी माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि छिमेकीले आज बिहान १० बजेतिर ढोकाको ताला फाडेर भित्र हेर्दा चारै जनाको हत्या भएको देखिएको जनाइएको छ ।

श्रीदेवीका श्रीमान् दिपक बोहरा भने वैदेशिक रोजगारीका लागि कतारमा रहेको खुलेको छ । कसले किन र के कारण हत्या गरेको हो भन्ने विषयमा थप अनुसन्धानपछि मात्र थाहा हुने थापाको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !