९ असार २०८१, आइतबार

भियतनाम र कम्बोडियामा पर्यटन प्रवद्र्धन गरिने


Nepalpatra

२४ जेठ, पोखरा । नेपालको पर्यटन उद्योगमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघले भियतनाम, कम्बोडियालगायतका स्थानमा पर्यटन प्रवद्र्धन गर्ने भएको छ ।

नेपालको पर्यटन विकासमा योगदान पु¥याउने लक्ष्यका साथ सन् २००४ देखि नाट्टा फाम टुर त्यसपश्चात् सन् २००८ देखि प्रत्येक वर्ष नाट्टा प्रमोशनल टुर सञ्चालन गर्दै आएको संघले यसपटक कम्बोडिया, भियतनामलगायतका स्थानमा पुगी पर्यटन प्रवद्र्धन गर्न लागेको हो ।

संघका महासचिव हरिराम अधिकारीका अनुसार यसअघिका वर्षमा छिमेकी मुलुक भारत, मलेसिया, सिंगापुर, दक्षिण कोरिया र बंगलादेशमा पर्यटन साझेदारीलगायतका विषयमा अन्तक्र्रिया, पत्रकार सम्मेलन तथा व्यावसायिक साझेदारी कार्यक्रम सम्पन्न गरिसकेको छ ।

संघले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आजदेखि असार दुई गतेसम्म भियतनामको हनोइ र कम्बोडियाको सिम रिएपमा नाट्टा प्रमोसनल टुर एण्ड सेल्स मिसन २०१८ गर्न लागेको अधिकारीले बताउनुभयो । बौद्ध धर्मावलम्बीको बसोबास भएका ती क्षेत्रमा बुद्ध जन्मभूमि नेपाल र यहाँका विभिन्न पर्यटकीय पक्षबारे प्रचारप्रसार एवं प्रवद्र्धन गर्ने योजना रहेको छ ।

प्रवद्र्धनात्मक भ्रमण टोलीमा नाट्टा क्षेत्रीय संघका पदाधिकारी तथा सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधि, नेपाल पर्यटन बोर्डका प्रतिनिधि, सञ्चारकर्मीसहित १८ जनाको सहभागिता रहने संघका निवर्तमान अध्यक्ष डिल्लीप्रसाद गौतमले जानकारी दिनुभयो । भ्रमण टोलीले भियतनाम र कम्बोडियामा पर्यटन साझेदारी, अन्तक्र्रियाका साथै नेपाल र विशेषतः पोखरा त्यस आसपासका पर्यटकीय क्षेत्र समेटी तयार पारिएका प्रवद्र्धनात्मक सामग्री वितरण गरिनेछ ।

नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सन्तोष पोखरेलका अनुसार प्रवद्र्धनका क्रममा विश्वका घुम्नै पर्ने प्रमुख १० देशमध्येको नेपाल पनि एक हो भन्ने जानकारी गराइने छ । बौद्धमार्गीको बसोबास भएको उक्त ठाउँमा भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा उनीहरूलाई भ्रमणका लागि प्रेरित गरिने उहाँले बताउनुभयो ।

भ्रमणसँगै भियतनाम र कम्बोडियाबाट नेपालमा सिधा हवाई सेवा विस्तार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनाका साथै पोखरासहित नेपाल भियतनामी र कम्बोडियाली पर्यटकका लागि उपयुक्त गन्तव्य हो भन्ने सन्देश प्रवाह गर्ने संघको लक्ष्य छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !