सिन्धुपाल्चोक । चीनसँगको उत्तरी सीमानाका तातोपानी आजदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका आज शुक्रबारदेखि खुल्ने भएको हो ।
गत मंगलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको थियो ।
२०७२ सालको महाभूकम्प र त्यसपछिको कोरोना भाइरस महामारीका कारण तातोपानी नाका पूर्णरुपमा बन्द भएको थियो । उक्त नाकाबाट तीन महिना अघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो ।
यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रबारदेखि स्थानीयको आवागमन खुला गरिएको हो । सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् ।
तातोपानीको पारिपट्टीको चिनियाँ बजारसम्म पुग्नका लागि तातोपानीस्थित अध्यगमन कार्यालयले पास वितरण सुरु गरेको छ । अध्यागमनले जारी गरेको एकवर्षे अवधिको पास पाएकाहरुले शुक्रबारदेखि चीनतर्फ प्रवेश पाउने कार्यालयले जनाएको छ ।