३० असार २०८१, आइतबार

बझाङ मष्टाकी गिठीदेवी जोशीले ८९ वर्षमा पाइन् नागरिकता


गिठीदेवी जोशी

मष्टा, बझाङ । बझाङ जिल्ला सदरमुकाम चैनपुरबाट डेढ घण्टाको दूरीमा पर्छ मष्टा गाउँपालिका । गाउँपालिकाको कार्यालय भातेखोला गाउँमा छ । सोही गाउँमा हुन्, ८९ वर्षीया गिठीदेवी जोशी ।

गिठीदेवीले शुक्रबार मात्रै नागरिकता पाइन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । सदरमुकाम नजिकै बस्नेले जन्मेको नौ दशकसम्म पनि नागरिकता नपाएकोबारे मनमा प्रश्न उब्जनु स्वाभाविक हो तर, प्रश्नको जवाफ सोही गिठीदेवी हुन् । उनी नागरिकताको आवश्यकताबारे थाहा नहुँदा नागरिकताबिहीन थिइन् । सरकारले दिने सेवाबारे उनी जानकार थिइन् जसले उनी सरकारबाट प्राप्त हुने सेवा सुविधाबाट वञ्चित हुनुपरेको थियो ।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले घरमै गएर नागरिकता दिएपछि भने प्रशासनको कामप्रति स्थानीय खुसी देखिए । “आमाले नागरिकता नपाएको बारेमा छोरा गौरीलालले जिल्ला प्रशासनमा खबर गर्नुभएको थियो । त्यसपछि सम्पूर्ण कागजात तयार गरेर घरमै पुगी नागरिकता दिएका हौँ”, प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने ।

नातिभन्दा पछि बज्यैको नागरिकता

मष्टा गाउँपालिका-३ भातेखोलाका कृष्णप्रसादले २०२० सालमा कान्छी श्रीमतीको रूपमा गिठीदेवीलाई भित्र्याए । जेठी श्रीमतीबाट एउटा मात्र छोरा हुँदा थप सन्तान प्राप्त गर्न गिठीदेवीलाई ल्याएका थिए । तर, उनीबाट केही सन्तान भएन । जेठी श्रीमतीबाट २०१९ सालमै जन्मिएकी थिइन् गौरीलाल । उनी अहिले ६१ वर्षको भए ।

गौरीलालले २०४२ सालमै नागरिकता लिए । गौरीका छोरा छोरी पनि नागरिकता लिइसकेका छन् । कान्छी श्रीमतीलाई नागरिकता दिनेबारे कृष्णप्रसादले पनि चासो देखाएनन् । पञ्चायतकालमा सरकारले दिएको अस्थायी निस्साको कागजले सानोतिनो काम चल्दै आएको हुँदा नागरिकता नबनाएको गौरीलालको भनाइ छ । उनले भने, “सानोतिनो काम चिनारीको रूपमा त्यसै कागजले चलिहाल्थ्यो । अरू आवश्यकता केही भएन । त्यसैले बनाउन पाइएन ।”

गाउँमा धेरै जनाले सदरमुकाम गएर नागरिकता बनाउन सुझाव दिएपछि प्रशासनलाई जानकारी गराएर उनीहरूले घरमै आएर नागरिकता दिएको गौरीलालले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !