काठमाडौं। सुन तस्करी प्रकरणमा आशंका गरिएका एक चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । तिब्बत एयरलाइन्सको जहाजमार्फत चीन जान लागेका चिनियाँ नागरिक जेयुङ लिनलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।
राजस्व अनुसन्धान विभागले हिजो बुधबार ठूलो परिमाणमा बरामद गरेको सुनका मालिक रहेका चिनियाँ नागरिक पक्राउ परेको विभाग स्रोतले जानकारी दिएको छ । उनी नेपाल छोडेर चीन जाने तयारीमा रहेका बेला त्रिभुवन विमानस्थलबाट पक्राउ परेका हुन् ।
विभाग स्रोतले दिएको जानकारी अनुसार उनी सुनका मालिक भएको दाबी गरिएको छ । यस्तै यही प्रकरणमा चितवनका अशोक लामा पनि पक्राउ परेका छन् । एक क्विन्टल सुन तस्करीमा लिनको भूमिका देखिएको बुझिएको छ ।
राजस्व अनुसन्धान विभागले अध्यागमन विभागलाई रोक्न पत्राचार गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई विभागको जिम्मा लगाइएको विमानस्थल स्रोतले जनाएको छ ।
सोही प्रकरणमा चितवनका अशोक लामा पनि पक्राउ परेका छन् । यस्तै उक्त प्रकरणमा राजकुमार भुजेल, दीलिप भुजेल, हर्क राई, राजेन्द्र राई र भारतीय नागरिक थाेप्तेन छिरिङ पक्राउ परेका थिए । उनीसहित यो प्रकरणमा पक्राउ पर्नेको संख्या सात जना पुगेको छ ।