९ असार २०८१, आइतबार

नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले गरे पदवहाली


नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले गरे पदवहाली

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पदवहाली गरेका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिएपछि कार्कीले आजै सर्वाेच्च अदालत पुगेर पदवहाली गरेका हुन् ।

पदबाहालीपछि कुरा गर्दै उनले आफ्नै संयोजकत्वमा न्यायपालिका सुधारका लागि बनेको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै न्यायपालिकाको अधिकार क्षेत्र पुनरावलोन गर्ने उनकाे भनाइ छ ।

“प्रतिवेदनको जगमा बसेर कार्ययोजना बनाएको छु, प्रतिवेदन सर्वोच्चलगायत सबै अदालत र सरोकारवाला सबैको समर्थनमा तयार भएको हो”, उनले भने, “सबैको सहयोग र सहकार्यबाटै यसलाई टुङ्गोमा पुर्‍याउन सकिन्छ ।”

उनले आफ्नो कार्यकाल छोटो हुनु र नहुनुभन्दा पनि न्यायापालिकालाई कसरी अगाडि बढाउने भन्ने विषय मुख्य रहेको बताए । उनले भने, “न्याय ढिलो हुन्छ, सर्वोच्च अदालतले न्याय दिन ढिलाइ गर्छ, लामो समय लाग्छ भन्ने कुरालाई सम्बोधन गर्नका लागि प्रतिवेदनअनुसार काम गर्छौं ।”

उनले न्यायाधीश र कर्मचारीको सरुवा, बढुवा, काजलगायत ठोस र वस्तुगत आधारमा देखिने गरी अघि बढाउने बताए । प्रधानन्याधीश कार्कीले न्यायाधीश नियुक्तिको सवालमा सम्बोधन गर्नका लागि न्यायाधीशको योग्यता अभिवृद्धिका लागि न्यायिक एकेडेमीमा ‘जज कोर्स’ सञ्चालनका लागि अध्ययन भइरहेको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !