काठमाडौं । सरकारले आउँदो असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न प्रतिबन्ध लगाएको छ । सडक विभागले वर्षायामको समयमा सडक खन्न प्रतिबन्ध लगाएको हो ।
सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले आज बिहीबार एक सूचना प्रकाशित गर्दै उक्त अवधिभर सडक खन्न स्वीकृति नदिइने तर खनेमा कारबाही गरिने जनाएको हो ।
सो कार्यालयअन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्न स्वीकृति नदिइने जनाइएको छ । त्यस अवधिमा कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ ।
वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत–सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकोले यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने स्पष्ट पारेको हो ।
जारी सुचना अनुसार आगामी असर १ देखि भदौ मसान्तसम्म सडकमा खन्न पाइने छैन । कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन अनुसार कडा कारबाही गर्ने सरकारको चेतावनी छ ।