७ पुस २०८१, आइतबार

‘आर्थिक संकट’ ले बन्द भयो ‘हिमाल खबरपत्रिका’ को प्रकाशन


हिमाल खबरपत्रिका

काठमाडौं । विगत २५ वर्षदेखि प्रकाशन हुँदै आएको ‘हिमाल खबरपत्रिका’ बन्द भएको छ । उक्त पत्रिकाका प्रकाशक कनकमणी दीक्षितले जेठको अंकसँगै प्रकाशन बन्द गरिएको जानकारी दिएका हुन् ।

जेठ अंकको ‘कोही किन धनी-गरीब?’ शीर्षकको आवरण अंकसँगै खबरपत्रिका सधैँका लागि बन्द हुने हिमाल मिडिया प्रालिले जनाएको छ । प्रकाशक दीक्षितले प्रकाशकीय नोटमा हिमालखबर पत्रिकाले विश्राम लिएको बताएका छन् ।

हिमालका प्रकाशक दीक्षितले प्रकाशकीय नोटमा भनेका छन्, “पाठकलाई दुःखद सूचना दिनुपर्ने भएको छ, यसै २०८० जेठ अङ्कबाट हिमाल खबरपत्रिकाले विश्राम लिनेछ।”

सुरुमा पाक्षिक रुपमा प्रकाशित हुने गरेको हिमाल बीचमा साप्ताहिक भएर अहिले मासिक रुपमा प्रकाशन हुँदै आएको थियो । खुम्चिएको विज्ञापन बजार र मिडियामा चर्को प्रतिस्पर्धाबीच यो पत्रिकाले आफूलाई टिकाउन नसकेको हो ।

पत्रिका बन्द गरिए पनि हिमाल डटकम भने यथावत चलिरहने दीक्षितले जानकारी दिएका छन् । हाल करिब २० जना पत्रकार कार्यरत रहेकोमा ७-८ जनाले भने रोजगारी गुमाउने भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !