२० असार २०८१, बिहिबार

एनसेलका टावरमा सुरक्षा सतर्कता


ncell tower

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका टावरहरुमाथि आक्रमण हुन थालेपछि देशभर उसका टावरमा प्रहरी सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ।

एनसेलले देशभर आफ्ना २८ वटा टावरहरुमा आक्रमण गरिएको बताएको छ।

आगजनी र तोडफोडलाई निजी क्षेत्र र जनताको सञ्चारको हकमाथिको आक्रमण भन्दै विरोध हुन थालेपछि एनसेलका टावरमा सुरक्षा बढाइएको अधिकारीहरुले बताएका छन्।

नेपाल प्रहरीका प्रवक्ता माधव जोशीले भने, “७५ वटै जिल्लामा सुरक्षाको भरपर्दो व्यवस्था मिलाउनु भनी केन्द्रबाट निर्देशन गइसकेको अवस्था छ, सुरक्षाको व्यवस्था मिलाउने सम्बन्धमा पनि र जुन घटनाहरु भए ती घटनाहरुको अनुसन्धान छानबिन गरेर दोषीलाई कारवाही गर्ने सम्बन्धमा पनि।”

७५ वटै जिल्लामा सुरक्षाको भरपर्दो व्यवस्था मिलाउनु भनी केन्द्रबाट निर्देशन गइसकेको अवस्था छ
माधव जोशी, प्रवक्ता, नेपाल प्रहरी

गृहमन्त्री शक्ति बस्नेतले आक्रमण गर्नेहरुलाई कारवाही गर्ने बताउँदै आएका छन् भने केहीलाई प्रहरीले पक्राउ गरिसकिएको बताएको छ।

निजी क्षेत्रको नेपालको ठूलो कम्पनीमध्येको एक मानिएको एनसेलको टावरमाथि केही महिना अगाडिदेखि पटक-पटक आक्रमण हुन थालेको थियो।

उक्त आक्रमण विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको समाचारहरु सार्वजनिक भएका थिए।

करिब १० लाख सेवाग्राहीलाई प्रत्यक्ष असर परेको छ, विशेष गरेर ग्रामीण क्षेत्रको सेवाग्राहीलाई असर परेको छ
मिलन शर्मा, कर्पोरेट संवादविज्ञ, एनसेल

एनसेलका अनुसार अहिलेसम्म १२ जिल्लाका २८ वटा टावरहरुमा आक्रमण भएको छ।

एनसेलका कर्पोरेट संवादविज्ञ मिलन शर्मा भन्छन्, “करिब १० लाख सेवाग्राहीलाई प्रत्यक्ष असर परेको छ, विशेष गरेर ग्रामीण क्षेत्रको सेवाग्राहीलाई असर परेको छ।”

जनताको मौलिक हक र निजी क्षेत्रमाथि भएको भनिएको उक्त आक्रमणप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय मानव अधिकार आयोग र नेपाल उद्योग वाणिज्य महासंघले राज्यलाई गम्भीर हुन आग्रह गरेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !