७ मंसिर २०८१, शुक्रबार

आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध पक्राउ पुर्जी जारी


गोपाल खड्का

काठमाडौँ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । विशेष अदालतले आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्कालाई पक्राउ गर्न सोमबार पुर्जी जारी गरेको हो ।

गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार मुद्दामा विशेष अदालतले पक्राउ पुर्जी जारी गरेको हो । आज सोमबार न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको संयुक्त इजलासले खड्कासमेत ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ पुस २३ गते तत्कालीन निर्देशक खड्कासहित शर्मिला खड्का, अमिता लामा सोदेम्बा र सीजी डेभलपर्स प्रालिविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

खड्काले १८ करोड ६६ लाख ५ हजार रुपैयाँ बराबर अकुत सम्पत्ति जोडेको दाबीसहित अख्तियारले मुद्दा दर्ता गरेको थियो । २०७१ साल माघमा खड्कालाई मन्त्रिपरिषद्ले निगमको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

जग्गा खरिदमा घोटाला पुष्टि भएपछि सरकारले २०७४ असोजमा विभिन्न संसदीय समितिको सिफारिसबमोजिम खड्कालाई बर्खास्त गरेको थियो । तर उनले सर्वोच्च अदालत गएर पद थमौती लिएपछि सरकारले खड्कालाई जिम्मेवारीविहिन बनाएपछि उनले २०७५ साल जेठ २५ गते पत्रकार सम्मेलन गरेर राजीनामा दिएका थिए ।

अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेतापनि सुनुवाइका लागि पटक-पटक पेशी तोकिए पनि उपस्थित नभएपछि विशेष अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

निगमको कार्यकारी निर्देशक भएपछि ६ वर्षमा पुर्ख्यौलीबाहेक तीन वटा घर बनाएको र काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलान्चोक जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरिएको समेत आरोपपत्रमा उल्लेख छ ।

अख्तियारले जग्गा खरिदमा भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनमा खड्काविरुद्ध मुद्दा दायर गरे पनि विशेषले जग्गा खरिदमा ‘क्लिन चिट’ दिएर अकुत सम्पत्ति आर्जनको मुद्दालाई मात्रै अगाडि बढाएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !