काठमाडौँ । न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । न्यायाधीश गिरीलाई काठमाडौंस्थित सामाखुसीबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
जबरजस्ती करणीको आरोपमा श्रीमती आरती गिरी रावलले दिएको जाहेरीका आधारमा प्रहरीले गिरीलाई आज मंगलबार पक्राउ गरेको हो । यसअघि न्यायाधीश गिरीलाई पक्राउ गर्न जिल्ला अदालत कपिलवस्तुले अनुमति दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको माग अनुसार जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । न्याय परिषद्मा कार्यरत न्यायाधीश गिरीलाई अनुसन्धान र कारवाहीका लागि कपिलवस्तुमा पठाइने प्रहरीले बताएको छ ।
गिरी यसअघि न्यायाधीश गिरी जिल्ला अदालत कपिलवस्तुमा कार्यरत थिए । गत असारमा न्यायाधीश भएर जिल्लामा पदस्थापन भएका गिरीको एक महिनाअघि काठमाडौंस्थित न्याय परिषद्मा सरुवा भएको थियो ।
गत मंसिरमा न्यायाधीश गिरीकी पत्नीले गिरीविरुद्ध हिंसा र यौन शोषण गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि निवेदन दिएकी थिइन् । गिरीलाई उनकी पत्नीले कारबाहीको माग गर्दै नयाँ वानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनसमेत गरेकी थिइन् ।
उता श्रीमतीविरुद्ध पनि सरकारी कागजात किर्तेको उजुरी दर्ता भएकोमा उनलाई पनि पक्राउ गर्न जिल्ला अदालत बाँकेले अनुमति दिइसकेको छ । यसरी श्रीमान् र श्रीमती दुवै प्रहरीको खोरमा पुग्ने भएका छन् ।
यो पनि पढ्नुहोस्