७ माघ २०८१, सोमबार

मिटरब्याज पीडितको अर्को समूहद्वारा आन्दोलन जारी राख्ने घोषणा


मिटरब्याज पीडित

काठमाडौं । मिटरब्याज पीडितको अर्को समूहले कानुन बनेर न्याय नपाएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेको छ । मिटरब्याज पीडितहरुले सरकारले आफूहरुका माग सम्बोधन नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

पीडितहरुले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै न्याय नपाएसम्म आन्दोलन जारी राख्ने बताएका हुन् ।

सरकारले पीडितको पक्षमा तत्काल कानून बनाउनुपर्ने, जाली तमसुकहरु खारेज गरिनुपर्ने, पीडितका नाममा झुटा मुद्दा लगाएर जारी भएका पक्राउपुर्जी खारेज हुनुपर्ने, झुटा मुद्दा लगाएर थुनामा रहेका पीडितहरुलाई तत्काल रिहाइ गर्नुपर्नेलगायतका माग राखेका छन् ।

सर्लाहीबाट हिजो (सोमबार) काठमाडौं आएका पीडित रविन्द्र कुशवाहाले सरकारले पीडितको पक्षमा गरेका कुनैपनि सम्झौता कार्यान्वयनमा चासो नदेखाएको बताए । सरकारले २०७८ साल असोज १ गते पीडितहरुसँग गरेको कुनैपनि सहमति कार्यान्वयनमा चासो नदेखाएको पीडितहरुको आरोप छ ।

उक्त समयमा सरकारले गठन गरेको कार्यदलले पीडितको बस्तीमा पुगे अतिनै राम्रो प्रतिवेदन बनाएर सरकारलाई पेश गरेपनि कानुन अभावका कारण कार्यान्वयन नभएको उनको दाबी छ । पीडितलाई न्याय दिनका लागि तत्काल भएका कानुन संशोधन र आवश्यक कानुन बनाउनुको विकल्प नभएको उनको भनाई छ ।

नेपालमा रहेका जतिपनि मिटरब्याज पीडितले आफूलेजस्तो संघर्ष गर्न नपरोस् भनेर आफूहरुले संघर्ष जारी राखेको उनको भनाई थियो ।

मिटरब्याज पीडित पुनम महतोले पीडितहरुलाई नै थुनामा पठाउन जारी भएको पक्राउ पुर्जी खारेज गर्न सरकारसँग माग गरिन् । थुनामा रहेका पीडितको रिहाइका लागि पहल गर्नपनि उनले सकारलाई आग्रह गरिन् । पीडित जनताले अदालतबाटसमेत न्याय नपाएको उनको आरोप छ ।

त्यसैगरी, पीडित रुकमणि चौधरीले आफू श्याम परदेशीका कारण पीडित बन्नुपरेको बताईन् । सरकारले श्यामलाई जेलमा राखेरपनि आफूहरुले न्यायको महशुस नगरेको उनको भनाई छ । सरकार मिटरब्याज पीडितको पक्षमा गम्भीर नभएको उनले बताईन् । सरकारले न्याय नदिएसम्म आफूहरु काठमाडौं छाडेर नजाने पनि उनले उद्घोष गरिन् ।

अर्का पीडित शिवशंकर महतोले अहिले सरकारका कुनै पनि संयन्त्रले काम नगरेको टिप्पणी गरे । सरकारले पीडितको पक्षमा काम गर्न नसकेको उनले बताए । पीडितहरुको पक्षमा धमाधम पक्राउ पुर्जी आइरहँदा पनि सकारले यसलाई रोक्ने र पीडितलाई न्याय दिने पक्षमा कुनै कदम नचालेको उनको आरोप छ । सरकारले केही दिनअघि मिटरब्याज पीडितको नाममा वाईसिएलका नेतासँग सम्झौता गरेको बताए । तर, उक्त संम्झौता कार्यान्वयन हुनै नसक्ने उनले बताए ।

सरकारले केही दिनअघि मात्रै मिटरब्याज पीडितका एउटा समूहसँग वार्ता गरेपनि फेरि हिजो (सोमबार) विभिन्न १४ जिल्लाका मिटरब्याज पीडित काठमाडौं प्रवेश गरेका छन् । करिब छ सयको संख्यामा रहेका पीडितहरु अहिले शान्ति वाटिकामा रहेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !