८ मंसिर २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्डद्वारा सदर चिडियाखानाको स्थलगत अवलोकन


प्रचण्डद्वारा चिडियाखानाको अवलोकन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरस्थित सदर चिडियाखानाको स्थलगत अवलोकन गरेका छन् । आज दिउँसो करिब २ बजे प्रधानमन्त्री दाहालले चिडियाखानाको स्थलगत अवलोकन गरेका हुन् ।

चिडियाखानामा करिब एक घण्टा बिताएको प्रधानमन्त्रीले जीव जनावरसँगै बाघ र हात्तीलाई बढी चासोका साथ हरेको चिडियाखानाको व्यवस्थापन प्रमुख रचना शाहले जानकारी दिए ।

प्रचण्डद्वारा चिडियाखानाको अवलोकन

तीस वर्षअगाडि चिडियाखाना अवलोकन गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय प्रकृतिक संरक्षण कोषलाई व्यवस्थापन गर्ने जिम्मा प्राप्त भएपछि थप आकर्षक र घुम्नयोग्य बनेको प्रतिक्रियासमेत दिए ।

अवलोकनका क्रममा उनले हात्तीलाई खानासमेत खुवाएका थिए । हाल चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ६८ जीवजन्तु रहेका छन् । त्यहाँका मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।

प्रचण्डद्वारा चिडियाखानाको अवलोकन

चिडियाखाना अवलोकन गर्न विदेशीका लागि रु सात सय ५०, सार्क देशका लागि रु पाँच सय, नेपालीलाई रु एक सय ५० र नेपाली विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरिएको छ । तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशमशेर जङ्गबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाका रूपमा स्थापना गरेका थिए ।

विसं २०११ देखि सर्वसाधारणका लागि खुला गरिएको चिडियाखानाको विसं २०५२ देखि व्यवस्थापनको जिम्मा नेपाल सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको थियो ।

तस्वीर : ज्ञानु खड्का


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !