१२ असार २०८१, बुधबार

टुँडिखेलमा सेना दिवस : महाशिवरात्रि बढाइँ र मार्चपास हुने


टुँडिखेलमा सेना दिवस

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी दुई सय ६०औँ स्थापना दिवस मनाउँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछिन् । नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको सेनाको उनी परमाधिपति हुन् । प्रमुख अतिथिले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गर्ने छिन् ।

हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिनेछ । सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । भारतीय सेनाको गोर्खा रेजिमेन्ट र बेलायत आर्मीको टोलीद्वारा व्याण्ड प्रस्तुति हुनेछ ।

नेपाली समाजमा लोकप्रिय रहेको मादलको यही फागुन ४ गते विश्व कीर्तिमान कायम भएको प्रमाणपत्र पनि मुख्य समारोेहपछि सेनालाई त्यही हस्तान्तरण गर्ने कार्यक्रम छ । जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिनेछ । नेपाली सेनाको सङ्गठन प्रमुखमा हाल प्रधानसेनापति प्रभुराम शर्मा हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !