१२ असार २०८१, बुधबार

बझाङ जीप दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या ८ जना पुग्यो


बझाङ जीप दुर्घटना

बझाङ । बझाङमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ जना पुगेको छ । बझाङको मष्टा गाउँपालिका-१ तुफान डाँडामा जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

आज दिउँसो सदरमुकाम चैनपुरबाट मष्टा–२ खेतकोट जाँदै गरेको सुपप्र ०१–००१च ११७ नम्बरको जीप दुर्घटना भएको हो । जीप सडकबाट २०० मिटर तल खसेर भीरमा अड्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार जीपमा कति जना सवार थिए भन्ने खुलेको छैन । अहिलेसम्म ८ जनाको शव फेला परेको र कति जना घाईते भएका छन् भन्ने यकिन नभएको प्रहरीले बताएको छ ।

जीप दुर्घटनामा ज्यान गुमाउने ४ जनाको पहिचान खुलेको छ । अन्य मृतक र घाइतेको पहिचान अझसम्म खुलेको छैन । भीरमा दुर्घटना भएकाले उद्धारमा कठिनाई भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनामा मष्टा गाउँपालिका–२ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका २५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए ।

घाइतेहरूको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयहरूले उद्धार गरेर जिल्ला अस्पताल सिमखेतमा ल्याउने काम भइरहेको छ । सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्कँदै गरेका यात्रुहरू दुर्घटनामा परेको मष्टा गाँउपालिका वडा नं १ का वडाध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !