१० मंसिर २०८१, सोमबार

बझाङ जीप दुर्घटना (अपडेट) : मृत्यु हुने संख्या ६ जना पुग्यो


बझाङ जीप दुर्घटना

बझाङ । बझाङमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ जना पुगेको छ । बझाङको मस्टा गाउँपालिका-४ चिउरी नजिकै जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बझाङको सदरमुकाम चैनपुरबाट मस्टा गाउँपालिका गइरहेको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना हुँदा जीप टुक्राटुक्रा भएकोले नम्बर प्लेटसमेत खुल्न सकेको छैन ।

सुपप्र ०१–००१ ज ११७ नम्बरको जिप दुर्घटना हुँदा अहिलेसम्म ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यद्यपि मृतक र घाइतेहरुको पहिचान भने खुलिसकेको छैन ।

जिप सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेको छ । आज दिउँसो ४ बजेतिर भएको दुर्घटनामा परी ७ जना घाइते भएको प्रहरीले बताएको छ ।

घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल सिमखेतमा पठाउने काम जारी रहेको छ । उद्धार कार्य जारी रहेकोले घाइते र मृतकको संख्या बढ्न सक्ने पनि प्रहरीले बताएको छ ।

दुर्घटना भएको जीपमा कति जना यात्रु सवार थिए भन्ने अहिलेसम्म खुलिसकेको छैन । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले उद्धार कार्य जारी राखेका छन् । दुर्घटनाको पूर्ण विवरण भने आउन बाँकी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !