१२ बैशाख २०८१, बुधबार

सल्यानको कपुरकोटमा जिप दुर्घटनामा मृतक भएका ८ जनाकै सनाखत


सल्यानको कपुरकोटमा जिप दुर्घटना

सल्यान । सल्यान जिल्लाको कपुरकोट गाउँपालिका–३ मुलपानीमा आज बिहान भएको जिप दुर्घटनामा मृतक भएका ८ जनाकै सनाखत भएको छ ।

बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा १ ज ५६३ नम्बरको जीप सल्यानको राप्ती राजमार्गअन्तर्गत कपुरकोटमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो भने १ जना घाइते भएका थिए ।

प्रहरीका अनुसार ९ जना सवार जीप बुधबार बिहान करिब ३ बजे भीरबाट १५० मिटर तल खसेको थियो । प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेहरु अधिकांश कपुरकोट गाउँपालिका- ६ का रहेका छन् ।

दुर्घटनामा घाइते कपुरकोट-६ का ३५ वर्षीय तिलक ओलीको उपचार प्रादेशिक अस्पताल दाङ तुलसीपुरमा जारी रहेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि कपुरकोट गाउँपालिकाको एम्बुलेन्समा दाङ लगिएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा जिप चालक जलवाङका २१ वर्षीय जितबहादुर बोहोरा, ३७ वर्षीय धर्मा ओली, ४० वर्षीय टोपबहादुर ओली र उनका छोरा ११ वर्षीय वसन्त ओली रहेका छन् ।

यस्तै कपुरकोट गाउँपालिका-६ कै ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली र कपुरकोट गाउँपालिका ५ का ३५ वर्षीय ललित ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यान स्रोतले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !