६ बैशाख २०८१, बिहिबार

काभ्रेमा ढुंगाखानीमा आएको पहिराले एकै परिवारका ३ जनाको मृत्यु


काभ्रेमा ढुंगाखानीमा पहिरा

बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलालगणेस्थानस्थित ढुङ्गाखानीमा गएको पहिरोले एकाबिहानै एकै परिवारका तीन जनाको ज्यान लियो । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट झरेको पहिराले पुरिएर दाजु नीरबहादुर तामाङ र बहिनी सावित्री तामाङको घटनास्थलमा नै मृत्यु भएको र आमा ठूलीमायाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार घरसहित ४४ वर्षीय नीरबहादुर र ४० वर्षीया सावित्रीको शव पहिराले पुरिएको अवस्थामा निकालिएको हो ।

पैंछठ्ठी वर्षीया ठूलीमायाको भने सख्त घाइते भई बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको उनले बताए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले दाजु बहिनीको शव निकालेको हो । एकै परिवारको तीनै जनाको मृत्यु भएपछि आफन्त शोकमा डुबेका छन् ।

पालिकाभित्र सञ्चालित ढुङ्गाखानी तथा क्रसर उद्योगलाई मापदण्डभित्र रहेर सञ्चालन गर्न गाउँपालिकाले जिल्ला समन्वय समितिसँगको समन्वयमा अनुगमन गरी करिब एक हप्ता अगाडिमात्रै मापदण्डभित्र रहेर सञ्चालन गर्न र दर्ता तथा आवश्यक कागजात नभएका खानी र उद्योगलाई मापदण्ड पुर्याएरमात्रै सञ्चालन गर्न निर्देशन दिइए पनि मापदण्डविपरीत सञ्चालन हुँदै आएको जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !