६ जेष्ठ २०८१, आइतबार

फेवाताल नै सुक्नसक्ने चेतावनी !


fewa-lake-colors

पोखरा, २९ जेठ– फेवाताल सिरानको सिमसारमा सरु भएको प्लटिङले ताल नै जोखिममा पर्न सक्ने देखिएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ । संरक्षणकर्मीहरूले तालको बाँच्ने आधार योसँग जोडिएको सिमसार क्षेत्र भएकाले उक्त प्लटिङले ताल नै मासिनसक्ने चेतावनी दिएका छन्।

संरक्षणकर्मी डा तीर्थबहादुर श्रेष्ठले भने, ‘तालको आयु सिमसारसँग जोडिने हुँदा सिमसार जोगाउनुपर्छ। सिमसार नरहे ताल पनि नरहन सक्छ।’ तालसँग जोडिएको सिमखेतलाई घडेरी बनाएर बेच्न ठिक्क पारिएको छ। सर्वसाधारणका आँखामा ताल भनेको पानी भरिएको ठाउँ मात्रै हो। तर ताल बाँच्ने अर्थात् त्यसरी पानी अडिने आधार भनेको वरिपरिको दलदल अर्थात् सिमसार क्षेत्र हो भन्छन् विज्ञ। फेवाताललाई रामसार सूचीमा दर्ता गरिसकिएको छ। त्यसैले यो विश्वकै सम्पदा बनेको छ। तर यो सम्पदा जोगाउनेभन्दा मास्ने काम धेरै भएको छ। त्यसैको पछिल्लो उदाहरण हो तालको सिमसार क्षेत्रमा सुरु भएको प्लटिङ। यसै पनि तालको पूर्वपट्टिबाट पोखरा सहरकै ढल लगेर मिसाउँदा दुर्गन्धित भएकै थियो। पानीको मुख्य स्रोत हर्पन खोलामा बर्सेनि आउने बाढीले बगाएर ल्याउने माटोले पनि ताल पुरेकै थियो। त्यसमाथि यसको सिमसारलाई सुक्खा बनाएर तालमाथि अर्को आक्रमण गरिएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !