३१ भाद्र २०८१, सोमबार

उपराष्ट्रपति पुनद्वारा तान्त्रिक भैरव नाच अवलोकन


नन्दबहादुर पुन

भक्तपुर । उपराष्ट्रपति नन्दबहादुर पुनले ऐतिहासिक एवं धार्मिक महत्वको लायकू भैलः नाचको हिजो शनिबार राति अवलोकन गरेका छन् । आज बिहान सम्पन्न भएको पहिलो दिनको नाच रातभर वर्षाको पर्वाहसमेत नगरी सञ्चालन भएको थियो ।

लायकू भैलः नाचको अवलोकन गर्न शनिबार राति मध्यपुरथिमिको बालकुमारी मन्दिरको डबलीमा पुग्नुभएका उनलाई मध्यपुरथिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायतले स्वागत गरेका थिए । सो अवसरमा उपराष्ट्रपति पुनले बालकुमारी मन्दिरको डबलीमा ऐतिहासिक भैरव नाचको अवलोकन गरी लायकू भैलः नाचको सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक महत्वका बारेमा जानकारी लिएका थिए ।

तान्त्रिक विधि र शक्तिअनुसार सञ्चालन गरिने मल्लकालीन लायकू भैलः नाच लायकू, दथुटोल, मरूटोल, बालकुमारी परिक्रमा गरी पुनः लायकू, दुईपोखरी, दिगु भैरवसम्म परिक्रमा गरी पुनः लायकू दरबारमा पुर्याइन्छ । उपराष्ट्रपति पुनलाई भैरव नाचका गुरु अर्जुन श्रेष्ठले टीका तथा प्रसाद र निरञ्जन श्रेष्ठले फूलमालाका साथ प्रसाद प्रदान गरेका थिए । सोही अवसरमा उनलाई नगर प्रमुख श्रेष्ठले भैरव नाचको तस्वीर र नाच गुरु अर्जुन श्रेष्ठले भैरवको मुखुण्डो प्रदान गरे ।

भैरव दुई, दायगी दुई, ज्यापुगचा एक गरी पाँच देवगण हुने नाच गाईजात्राको भोलिपल्ट भाद्र कृष्ण द्वितीया (गुंलागा द्वितीया) देखि चार रात यही साउन ३१ गते पञ्चमीसम्म मनाइने नाच सञ्चालन एवं व्यवस्थापन समितिका संयोजक एवं गुरु अर्जुनले जानकारी दिए ।

पैतालीस वर्षसम्म बन्द भएर लोपोन्मुख अवस्थामा पुगेपछि स्थानीयको पहल र नगरपालिका तथा दाताहरूको सहयोगमा यहाँका युवाको सक्रियतामा पुनः सञ्चालनमा आएको तान्त्रिक एवं ऐतिहासिक भैरव नाच गत दुई वर्ष कोरोना भाइरस सङ्क्रमण महामारीका कारण सञ्चालन गर्न नसके पनि यस वर्ष भने पुनः सञ्चालन गरिएको हो ।

भैलः दुई, दाःगिं दुई र ज्यापूंगःचा एक गरी पाँच देवगण सहभागी हुने नाचमा यस वर्ष ज्यापुंगःचा रिसल श्रेष्ठ, न्हापा भैलः उज्जवल श्रेष्ठ, लिपा भैलः रोमन श्रेष्ठ, न्हापा दायगं सुजल श्रेष्ठ र लिपा दायगं श्रयन श्रेष्ठले नाच नाचेका छन् । भैरवले खड्ग, कुमारीले डमरु र ज्यापुंगःचाले कपासको बियाँ, अक्षता र चामल भुटेर तयार गरिएको ताय् भएको भाँडो, हातमा लिएर बाजाको विभिन्न तालमा हाउभाउ प्रस्तुत गर्दै नाच्ने गरिन्छ ।

नाचका क्रममा भैलः र दागिंले क्रोधित मुद्रा प्रस्तुत गरेपछि ज्यापुंगःचाले हानेर शान्त बनाइन्छ भने नाचको लागि बाजा बजाउने टोलीमा १२ जनाले दागः, आठ जनाले भुस्याः, आठै जनाले पोङ्गा र चार जनाले म्वायेली बजाउने गरिन्छ ।

नाचको क्रममा भैरव र कुमारीले बेला–बेलामा क्रोधित भएर नाच्ने र ज्यापुंगले शान्त बनाउने गर्दछन् भने नाचका लागि १२ जनाले दागः, आठ जनाले भुस्याः, आठ जनाले पोङ्गा र चार जनाले मुहाली बजाई सुर ताल दिने संयोजक श्रेष्ठले जानकारी दिए ।

धांः बाजाको विभिन्न ३० देखि ३२ तालमा नचाउने यस नाच विभिन्न टोल तथा देवालयहरूमा दुईदेखि तीन तालसम्म मात्र नचाइने चलन छ भने नृत्यनाथ (नसःद्य)को प्राङ्गणमा भने नचाउन अनिवार्य छ । मन्त्रोचारण गरी नाच निकालिसकेपछि नाच समापन नभएसम्म देवता बनेर नाच्ने व्यक्तिले कसैको जुठो खान नहुने, शुद्ध भएर बस्नुपर्ने प्रावधान रहेको छ ।

शास्त्रीय एवं तान्त्रिक विधिको प्रयोग गरी देवगणहरूको शरीरमा शक्ति प्रवेश गराई नाच नचाउने परम्परा रहेको गुरु श्रेष्ठको भनाइ छ । उनीहरूलाई तीन सातादेखि प्रत्येक दिन साँझ नाच प्रदर्शनका लागि तान्त्रिक विधिको प्रयोग गरी प्रशिक्षण दिइएको थियो । नाच सञ्चालनका लागि कोष खडा गरी आवश्यक रकम नगरपालिकादेखि विभिन्न दाता, सङ्घसंस्था र स्थानीय बासिन्दाले सहयोग गरेका छन् ।

प्राचीनकालमा मध्यपुरथिमि क्षेत्रका बासिन्दालाई भूतप्रेत, पिसाचले दुःख हाहाकार मच्चाएका थिए । त्यसबाट मुक्ति पाउनका लागि लायकूका सञ्चालक सक्रिय भएर शास्त्रका विज्ञ, तान्त्रिक र विद्धानसँग छलफल गरी स्थानीय मानिसहरूमा तान्त्रिक विद्यामार्फत मानिसको शरीरमा भैरव, कुमारीको शक्ति प्रवेश गराई क्रोधित मुद्रामा टोल–टोलमा नचाएपछि भूतप्रेत टिक्न नसकेकाले त्यसपछि यो नाच चल्दै आएको किंवदन्ती रहेको यहाँका अन्य बासिन्दाले जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !