१३ आश्विन २०८१, आइतबार

दुवै मिर्गौला फेल भएका ओझाले सहयोग गरिदिन आग्रह


mrigola

२५ वैशाख, मोरङ । दुवै मिर्गौला बिग्रिएर जीवनमरणको दोसाँधमा पुगेका मोरङ कानेपोखरीका डम्बरबहादुर ओझाले उपचारका लागि सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।

दुवै मिर्गौला फेल भएर निरन्तर डाइलाइसिस गराइरहेका मोरङको कानेपोखरी गाउँपालिका–५ का ४० वर्षीय ओझाले किड्नी प्रत्यारोपण गर्न आवश्यक रकम जुटाइदिन आग्रह गर्नुभएको हो ।

एघार महिनाअघि दुवै किड्नी बिग्रिएपछि सातामा दुईपटक डाइलाइसिस गराइरहेका ओझाले ऋण सापट गरेर जेनतेन निरन्तर डाइलाइसिस गराइरहे पनि आफ्नै आमाले दिन खोजेको किड्नी रकम अभावका कारण प्रत्यारोपण गराउन नसकेको बताउनुभयो ।

कानेपोखरीमा चार वर्षअघि घरमा भएको आगलागीका कारण आफ्नो सर्वस्व गुमेको र त्यसपछि देखापरेको किड्नी समस्याका कारण अहिले ऋणमा डुबेको बताउनुभयो ।

५७ वर्षीया आमा धनमाया ओझाले आफूलाई एउटा किड्नी दिन तयार रहेपनि प्रत्यारोपणबापत लाग्ने रु आठलाख रकम जुटाउन नसकेकाले प्रत्यारोपण गराउन नसकेको गुनासो गर्नुभयो ।

उहाँले सहयोगी संघसंस्था र व्यक्तिले सहयोग गरिदिए आफूले नयाँ जीवन पाउनसक्ने बताउँदै सहयोगको अपिल गर्नुभएको हो । मिर्गौला पीडित ओझाका दुई नाबालक सन्तान छन् ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !