विराटनगर । विराटनगरमा घरभित्र जलेको अवस्थामा वृद्धाको शव भेटिएको छ । विराटनगरमा आइतबार साँझ आफ्नै घरभित्र पूर्ण रूपमा जलेर मृत्यु भएको अवस्थामा एक जना वृद्धा महिलाको शव भेटिएको हो ।
विराटनगर महानगरपालिका–९ की ६७ वर्षीया अमराउदेवी कोठारीको शव घरको कोठाभित्र फेला परेको मोरङ प्रहरी स्रोतले जानकारी दिएको छ । वृद्धाका पति विजयसिंह कोठारीले प्रहरीलाई घटनाको जानकारी गराएका थिए ।
विजयले आफू कामको शिलशीलामा बाहिर रहेको र घर पुगेपछि घटना थाहा पाएको बताएका छन् । प्रहरीका अनुसार घटना भएका बेला बुहारीलगायतका परिवारका अन्य सदस्य घरको माथिल्लो तलामा रहेका थिए ।
घरको माथिल्लो तलामा रहेकाहरुले घटनाका बारेमा थाहा नपाएको प्रहरीलाई बताएका छन् । कोठाको चुक्कुल भित्रबाट लगाएको र आगोले जलेको अवस्थामा वृद्धाको शव भेटिएको प्रहरीले जनाएको छ ।
उनका अनुसार कोठा बन्द गरेर वृद्धा आफैँले शरीरमा मट्टितेल छर्किएर आगो लगाएको हुनसक्ने आशङ्का गरिएको छ । शवनजिकै मट्टितेलको जर्किन र सलाई प्रहरीले फेला पारेको छ ।
शवलाई पोस्टमार्टमका लागि कोसी अस्पताल लगेर घटनाको अनुसन्धान सुरु गरिएको छ । घटनाका बारेमा विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।