१५ बैशाख २०८१, शनिबार

अन्तत: एआईजी विश्वराज पोखरेलले दिए राजीनामा


विश्वराज पोखरेल

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । उनले आज सोमबार नेपाल प्रहरीको मानव स्रोत विभागमा आफैं उपस्थित भएर राजीनामा दिएका प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।

एआईजी पोखरेलले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्तिविरुद्ध दायर भएको रिट सर्वोच्च अदालतले असार २९ गते शुक्रबार खारेज गरेको थियो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले पोखरेलको रिट खारेज गरेको थियो ।

एआईजी पोखरेलले दायर गरेको रिटमा सर्वोच्चले धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय कानुनसम्मत भएको ठहर गरेको थियो । सर्वोच्च यो आदेशसँगै एआईजी पोखरेलको आईजीपी बन्ने सपना चकनाचुर भएको थियो ।

सर्वोच्चको फैसलापछि एआईजी पोखरेलसामु प्रहरी प्रधान कार्यालयमा हाजिर हुने वा राजीनामा दिने मात्र विकल्प मात्र बाँकी रहेको थियो । सर्वोच्चले आफ्नो पक्षमा आदेश नदिएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

सरकारले आइजिपीमा सिंहलाई बढुवा गरेपछि एआइजी पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले तेस्रो वरियताका व्यक्तिलाई बढुवा गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आइजिपी बनाएको भन्दै पोखरेलले रिट दर्ता गरेका थिए ।

वैशाख १८ मा मन्त्रिपरिषद्ले सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेपछि वरिष्ठता मिचेको भन्दै प्रतिस्पर्धी एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !