३ मंसिर २०८१, सोमबार

तिखेढुंगा–भुरूङ तातोपानी सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने


२१ वैशाख, म्याग्दी । कास्कीको तिखेढुङ्गाबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकासम्म सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने भएको छ ।

छिमेकी राष्ट्र भारत र चीन जोड्ने अन्तरदेशीय सञ्जालअन्तर्गत व्यापारिक दृष्टिकोणले महत्वपूर्ण मानिएको तिखेढुंगा–भुरूङ तातोपानी सुरुङ मार्गको चालू आर्थिक वर्षभित्र सम्भाव्यता अध्ययत पूरा गर्ने गरी बजेटमा प्राथमिकता दिइएको छ ।

प्रदेश नं ४ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरूङले बुधबार प्रस्तुत गर्नुभएको आव २०७४÷७५ को बजेटमा दुई जिल्लालाई छोटो दूरीमा जोड्ने सुरूङ मार्गको सम्भाव्यता अध्ययन सकिएपछि प्राथमिक योजनामा राख्ने पहल भइरहेको जानकारी दिनुभयो ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुंगाबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी जोड्ने सुरूङमार्गले चीनको तिब्बतबाट सिधा भारतको सुस्तासम्म जोड्ने बेनी–जोमसोम–कोरला नाकाको मात्र विकल्प नभई तिब्बतबाट नेपाल र भारतका लागि लोड गरिएका कन्टेनरका लागिमात्रै प्रयोग गरिने गरी प्रस्ताव भएको कास्की अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताउनुभयो ।

“यो सडक सञ्जालको विकल्प होइन्, दुई छिमेकी देश जोड्ने गौरवको आयोजना हुनेछ”, कुँवरले भन्नुभयो । उहाँले तिब्बतको कोरला नाका खुलेपछि चीन जोड्ने अन्य नाकाभन्दा पनि कोरला नाकालाई प्रभाबकारी बनाउनसमेत सुरुङमार्ग महत्वपूर्ण हुने बताउनुभयो ।

सुरुङ मार्गबाट यात्रुको आवतजावतमा कम प्राथमिकता दिनुपर्नेमा जोड दिंदै उहाँले कन्टेनरलाई छोटो दूरीको मार्ग प्रयोग गर्दा अन्तर्राष्ट्रिय व्यापारी र लगानीकर्तासमेत आकर्षित हुने बताउँदै कास्की, पर्वत, बागलुङ र म्याग्दीलाई सुरुङ मार्गको विस्तारबाट लगानी भित्र्याउनसमेत सहज हुन्छ भन्नुभयो । हाल करीब ६७ किलोमिटर दूरी रहेको तिखेढुंगा–तातोपानीको दूरीलाई सुरुङ मार्गले सात किलोमिटरमा समेट्ने छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !