१२ असार २०८१, बुधबार

काभ्रे रोशी दुर्घटना (अपडेट) : मृतक ५ जनाको सनाखत, १९ जना घाइते


काभ्रे रोशी दुर्घटना

काठमाडौं । काभ्रेपलान्चोक जिल्लामा तीर्थयात्री बोकेको बस र टाटासुमो ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । काभ्रेपलान्चोकको रोशी गाउँपालिका-११ बढुवेशीमा तीर्थयात्री बोकेको बस र टाटासुमो ठोक्किँदा १ जना बच्चासहित ५ जनाको मृत्यु भएको हो ।

भारतीय पर्यटक बोकको यूपी ५८ टी ८१८१ नम्बरको मिनी बस गाडी र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको जिप एक-आपसमा ठोक्किँदा ५ जना नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रे स्रोतले जानकारी दिएको छ ।

बीपी राजमार्ग अन्तर्गत सिन्धुली–बनेपा सडकखण्डको मंगलटारदेखि ५०० मिटर पूर्व काठमाडौँबाट भारततर्फ जाँदै गरेको तीर्थयात्री बोकेको यात्रुवाहक बस र सिन्धुलीबाट काठमाडौँतर्फ आइरहेको टाटासुमो ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा मृत्यु हुनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका-७ का ३० वर्षीय विक्रम श्रेष्ठ, सिन्धुलीकै कमलामाई नगरपालिका-४ अन्दाजी ४५ वर्षीय हरिबहादुर बल, सिन्धुलीको सुनकोसी गाउँपालिका-१ का ४४ वर्षीय प्रमिला नेपाली, रामेछापको खाँडादेवी-८ की ३० वर्षीया सम्झना भूसाल, उनका ६ वर्षीया छोरा संगीत भूसालको रहेका छन् ।

दुर्घटनामा मृत्यु हुनेहरू सबै जिपमा सवार रहेका यात्रुहरु भएको प्रहरीले बताएको छ । दुर्घटनामा १९ जना घाइते भएको पनि प्रहरीले बताएको छ । दुर्घटनामा घाइते भएकाहरूको धुलिखेल अस्पतालमा उपचार जारी रहेको छ ।

प्रहरीका अनुसार बसमा सवार तीर्थयात्रीहरु काठमाडौंमा पशुपतिनाथ दर्शन गरेर फर्कदै थिए। भारतीय तीर्थयात्री बोकेर काठमाडौँबाट जाँदै गरेको मिनीबस र काठमाडौँ आउँदै गरेको टाटा सुमो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !