१२ असार २०८१, बुधबार

काभ्रेमा तीर्थयात्री बोकेको बस र टाटासुमो ठोक्किँदा ५ जनाको मृत्यु


काभ्रे रोशी दुर्घटना

काठमाडौं । काभ्रेपलान्चोक जिल्लामा तीर्थयात्री बोकेको बस र टाटासुमो ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । काभ्रेपलान्चोकको रोशी गाउँपालिका-११ बढुवेशीमा तीर्थयात्री बोकेको बस र टाटासुमो ठोक्किँदा १ जना बच्चासहित ५ जनाको मृत्यु भएको हो ।

बीपी राजमार्ग अन्तर्गत सिन्धुली–बनेपा सडकखण्डको मंगलटारदेखि ५०० मिटर पूर्व काठमाडौँबाट भारततर्फ जाँदै गरेको तीर्थयात्री बोकेको यात्रुवाहक बस र सिन्धुलीबाट काठमाडौँतर्फ आइरहेको टाटासुमो ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ ।

भारतीय पर्यटक बोकको यूपी ५८ टी ८१८१ नम्बरको मिनी बस गाडी र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको जिप एक-आपसमा ठोक्किँदा ५ जना नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रे स्रोतले जानकारी दिएको छ ।

अन्दाजी ६/७ वर्षको एक जना बालकसहित अन्य ४ जना मृतकको पहिचान अहिलेसम्म खुल्न सकेको छैन । दुर्घटनामा आधा दर्जन भन्दा बढी गम्भीर घाइते भएको प्रहरीले बताएको छ । दुर्घटनामा घाइते भएकाहरूको धुलिखेल अस्पतालमा उपचार जारी रहेको छ ।

भारतीय तीर्थयात्री बोकेर काठमाडौँबाट जाँदै गरेको मिनीबस र काठमाडौँ आउँदै गरेको टाटा सुमो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनाको बारेमा थप विवरण आउन भने बाँकी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !