१३ वैशाख, इलाम । इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
पाहुना टिम सिक्किम युनाइटेट भारतलाई ३–१ गोलको अन्तरले हराउँदै आर्मीले सेमिफाइनलको स्थान सुरक्षित गरेको हो । बुधबार इलामको ठूलो टुँडिखेल खेलमैदानमा भएको तेश्रो क्वार्टरफाइनलमा खेलको १५ औं मिनेटमा आर्मीका दिनेश हेनजमले गोल गरेर आर्मीका जितका लागि खाता खोलेका थिए ।
दोश्रो हाफमा दुवै टिमका खेलाडीले आक्रमक शैलीमा मैदानमा प्रस्तु भएका थिए । खेलको ७१ औं मिनेटमा सिक्किमका स्ट्राइकर इन्द्रजीत खत्रीले गोल गरी खेललाई बराबरीमा ल्याएका थिए । यस्तै ७६ औं मिनेटमा नेपाली राष्ट्रिय टिमका स्ट्राइकर नवयुग श्रेष्ठले गोल गरी अग्रता दोब्बर बनाउन सफल भए । ९० औं मिनेटमा आर्मीका कप्तान भरत खवासले गोल गरी ३–१ को गोल अन्तरले जित निकाल्न सफल भएका छन् ।
यता सिक्किमका खेलाडीले अन्तिम समयसम्म गोल गर्न निरन्तर प्रयास जारी राखे पनि सफल बन्न सकेनन् । अन्ततः क्वार्टरफाइनलबाटै बाहिरिँदै सिक्किम स्वदेश फर्कन बाध्य बन्न पुग्यो । खेलमा आर्मीका सन्तोष तामाङ म्यान अफ दी म्याच घोषित भएका छन् । उनले नगद १० हजार रुपैयाँ र चाँदीको मेडल प्राप्त गरे ।
यसअघिका क्वार्टरफाइनलबाट मनाङ मर्स्याङ्दी र सशस्त्र प्रहरीको एपीएफ क्बल काठमाण्डौ अन्तिम चारमा पुगिसकेको छ । आर्मीले अब शनिबार हुने पहिलो सेमिफाइनलमा मनाङ मस्याङ्दीको सामना गर्नेछ ।
बिहीबार अन्तिम क्वार्टरफाइनमा विभागीय टिम नेपाल पुलिस क्लब काठमाण्डौ र थ्रिस्टार क्लब ललितपुर भिड्नेछन् ।