१२ पुस २०८१, शुक्रबार

सैन्य सुरक्षा क्षेत्रका विज्ञलाई अमेरिकाले नेपालका लागि राजदूत पठाउदै


डिन आर थम्सन

काठमाडौँ । अमेरिकाका राष्ट्रपति जोसेफ वाइडेनले नेपालका लागि राजदूतमा डिन आर थम्सनलाई प्रस्ताव गरेका छन् । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा नेपालका लागि राजदूतमा थम्सनलाई नियुक्त गर्न राष्ट्रपतिले प्रस्ताव गरेको उल्लेख गरिएको छ ।

लामो समय परराष्ट्र सेवामा कार्यरत थम्सनले सन् २०२१ को सेप्टेम्बर १५ देखि अमेरिकाको परराष्ट्र सेवामा दक्षिण तथा मध्य एसियाका लागि मुख्य सहायकमन्त्रीको भूमिकामा कार्यरत रहेका छन् । उनको नियुक्तिलाई सिनेटले अनुमोदन गरेपछि नेपालका लागि राजदूत नियुक्त हुने व्यवस्था रहेको छ ।

परराष्ट्र सेवामा लामो समय काम गरेका सैन्य सुरक्षा क्षेत्रका विज्ञ समेत रहेका थम्सन पहिलोपटक राजदूतको भूमिकामा नियुक्त भएका हुन् । यस अगाडि उनीसँग मलेसियाको राजधानी क्वालालम्पुरमा चिफ अफ मिशन भएर काम गरेको अनुभव रहेको छ ।

यसअघि रोमानियाका लागि उपनियोग प्रमुख भएर काम गरेका थम्सनले विभिन्न पदमा रहेर भारत, श्रीलङ्कालगायत देशमा पनि बसेको स्टेट डिपार्टमेन्टमा रहेको उनको व्यक्तिगत विवरणमा उल्लेख गरिएको छ ।

अमेरिकी विदेशमन्त्रीहरुलाई सिधा सहयोग, चौबिसै घण्टा खुला हुने अपरेशन सेन्टर लगायतका विभिन्न इकाइमा बसेर देश सेवा गरेका थम्सनले परराष्ट्र सेवाभन्दा अघि रक्षा मन्त्रालय मातहत रहेर काम गरेको अनुभवसमेत रहेको छ ।

युनिभर्सिटी अफ मेरिल्यान्डको स्कुल अफ पब्लिक अफेयर्सबाट सार्वजनिक व्यवस्थापनमा स्नातकोत्तर गर्नुका साथै उनले युएस नेशनल वार कलेजवाट ‘राष्ट्रिय सुरक्षा रणनीति’ मा स्नातकोत्तर उपाधि ग्रहण गरेका पनि छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !