११ पुस २०८१, बिहीबार

पत्रकारमाथि गोली प्रहार, घटनास्थलमै मृत्यु


eljan

एजेन्सी, १० वैशाख । फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गरिरहेका एक पत्रकारको गोली लागेर मृत्यु भएको छ । एन्जल गाहोना नामक ती पत्रकारले क्यारेबियन टापु सहर ब्लूफिल्ड्समा प्रदर्शनका कारण एउटा बैंकमा भएको क्षतिका बारे शुक्रबार फेसबुकमार्फत् प्रत्यक्ष प्रसारण गरिरहेकै बेला उनलाई गोली लागेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

मिडियो फुटेजमा गोली लागेका उनी भुइँमा लडेको र रगत बगिरहेको देखिएको छ । निकारागुवाका राष्ट्रपति ड्यानियल अर्टेगा नेतृत्वको सरकारले बुधबार पेन्सनसम्बन्धी व्यवस्थामा गरिएको परिवर्तन स्वीकृत गरेपछि सुरु भएको सरकार विरोधी प्रदर्शनका कारण एक पत्रकारसहित दुई दर्जन मानिसको मृत्यु भइसकेको छ । सरकारले मजदुर र कामदारवाट पेन्स कोषमा योगदानको वृद्धि गर्दै समग्र फाइदामा ५ प्रतिशत घटाएको छ ।

प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई राष्ट्रपति अर्टेगाले वार्तामा आउन आह्वान गरे पनि प्रदर्शनकारीको नेतृत्व गरिरहेका नेताहरुले भने पहिले प्रहरीको हिंसा रोकिनु पर्ने माग गर्दै वार्तामा बस्न अस्वीकार गरिरहेका छन् ।

प्रदर्शनकारीले सरकारी भवनमा क्षति पुर्याउने र आगजनी गर्ने थालेपछि सरकारले देशका विभिन्न सहरमा सरकारी फौज तैनाथ गरेको छ । शनिबार भएको प्रदर्शनमा मानागुवास्थित पोलिटेक्निकल विश्वविद्यालयका विद्यार्थीले क्याम्पस प्रवेशद्वारमा बार लगाएपछि सरकारी फौजले बल प्रयोग गर्दा कम्तीमा सय विद्यार्थी घाइते भएका थिए ।

यसैबीच निकारागुवामा भइरहेको प्रदर्शन रोक्न धर्म गुरु पोप फ्रान्सिस्ले आग्रह गरेका छन्। उनले देशमा जारी हिंसा तत्काल अन्त्य गरी विविधताको समाधान शान्तिपूर्ण तरिकाले गर्नसक्ने आग्रह गरेका छन् । निकारागुवाको सरकार विरोधी प्रदर्शनका कारण हालसम्म २५ भन्दा बढीको मृत्यु भइसकेको एउटा मानवअधिकारवादी समूहले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !